छ महिनामा ३ अर्ब १८ करोड राजस्व संकलन, लक्ष्यमा १२९.०३ प्रतिशतले प्रगति |
विराटनगर । आन्तरिक राजस्व कार्यालयले गतवर्षको छ महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा गतवर्षको सोही अवधिमा भन्दा रू. ७१ करोड ५९ लाख ४१ हजार राजस्व बढी संकलन गर्न सफल भएको छ । गतवर्षको सो अवधिमा २ अर्ब ४६ करोड ५३ लाख ९० हजार राजस्व संकलन गरेको कार्यालयले यस वर्षको सो अवधिमा कुल ३ अर्ब १८ करोड १३ लाख ३१ हजार राजस्व संकलन गर्न सफल भएको हो ।
कार्यालयका अनुसार ३ अर्ब ४ करोड ६४ लाख ५८ हजार राजस्व असुल गर्ने लक्ष्यमा १३ करोड ४८ लाख ७३ हजार राजस्व बढी अर्थात् लक्ष्यमा १२९.०३ प्रतिशत प्रगति हासिल भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमको भनाइ छ ।
संकलित राजस्वमा आयकर रू. ९२ करोड ८३ लाख १२ हजार, बहाल कर ५ करोड २१ लाख ८५ हजार, ब्याज कर ३ करोड ९५ लाख २३ हजार, मूल्यअभिवृद्धि कर ६० करोड १० लाख १४ हजार, अन्तःशुल्क १ अर्ब ५२ करोड ११ लाख ८५ हजार, स्वास्थ्य सेवा दुई करोड ८२ लाख ६ हजार र शिक्षा सेवा शुल्क १ करोड ९ लाख ६ हजार रहेको छ ।