एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकबीच सम्झौता | अब भारतीय गोरखा सैनिकमा आवद्ध नेपालीले दुइटा बैंकमा जुडुवा खाता खोल्न सक्ने, कर्जा पनि पाउने
काठमाडौं । नेपालको एभरेष्ट बैंक लिमिटेड र भारतको पञ्जाव नेशनल बैंकबीच खाता सञ्चालनसम्बन्धी सम्झौता भएको छ । दुवै बैंकबीच भारतीय गोरखा सैनिकमा आवद्घ नेपालीलाई सुविधा प्रदान गर्ने उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ, समिर बाजपाई महाप्रबन्धक पञ्जाव नेशनल बैंक–सरकारी बिजनेस डेभिजनले हस्ताक्षर गरेका हुन् ।
पञ्जाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा आयोजित कार्यक्रममा गरिएको उक्त सम्झौतासँगै नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा शैनिकहरूले एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकका जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्ने भएका छन् ।
गोरखा सैनिकहरूले खोल्ने उक्त रक्षक प्लस खाताबाट निःशुल्क रेमिट्यान्स सुविधा, एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकको सह–ब्राण्डेड डेबिट खाताजस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन् । भारतीय गोरखा शैनिकका स्थायी नेपालीलाई उक्त खाताबाट कर्जाको सुविधासमेत रहेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा दुवै बैंकका वरिष्ठ पदाधिकारीहरूको पनि उपस्थिति थियो ।
हाल यस एभरेष्ट बैंकले देशभर रहेका आफ्ना ८६ वटा शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, २८ राजस्व संकलन काउण्टर र ११६ एटीएममार्फत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।