लक्ष्मी बैंकको साधारणसभा माघ २८ गते | ८ दशमलव ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने
काठमाडौं । लक्ष्मी बैंकले माघ २८ गते १८औं वार्षिक साधारणसभा गर्ने भएको छ । उक्त सभाले माघ १३ गतेसम्म कायम शेयरधनीलाई चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि बैंकले माघ १४ गते बुक क्लोज गर्ने भएको छ ।
बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा लाभांश बाँड्न योग्य नाफा १ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । कर लाभांशसहित बैंकले गतवर्षको नाफाबाट ७३ करोड ५८ लाख रुपैयाँ लाभांश दिनेछ ।
नेपाल राष्ट्र बैंकले निर्देशन गरेको ८ अर्ब रुपैयाँ जुटाएपछि पनि बोनस शेयर दिने भएको हो । पूँजी जुटाउने क्रममा प्रोफेसनल दियालो विकास बैंक मर्जरसँगै शतप्रतिशत हकप्रद शेयर र बोनस शेयरबाट पूँजी जुटाउन बैंक सफल भएको हो ।