वुद्ध एयरले वैशाखदेखि काठमाडौं−कोलकाता उडान शुरु गर्ने |

काठमाडौं । बुद्ध एयरले वैशाखदेखि काठमाडौं˗कोलकाता उडान गर्ने भएको छ । कम्पनीको एटीआर˗७२ मार्फत साताको तीन उडान गर्नेछ । कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले काठमाडौं˗कोलकाताका नेपालबाट उडान अनुमति पाइसकेको र भारततर्फ अन्तिम चरणमा रहेको जानकारी दिएका छन् ।
कोलकता उडानका लागि कम्पनीले विहानको स्लट मागेको छ । भाडादर भने केहीपछि मात्रै सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ । यो रुटको उडान समय १ घण्टा ४० मिनेट हुन्छ । अहिले एयर इन्डियाको काठमाडौं˗कोलकाताको दुईतर्फी भाडा २८ हजार रुपैयाँ छ ।
खर्च र घाटा न्यून गर्ने उद्धेश्यले परीक्षण उडानका लागि एटीआर प्रयोगमा ल्याउन लागेको जानकारी दिँदै परीक्षण उडान सफल भएमा ठूलो विमान ल्याएर उडान थाल्ने उनले बताए।न्यारो बडी९ठूलो०विमान खरिदका लागि हाल एयबस र बोइङ कम्पनीसँग छलफल गरिसकेको बस्नेतले बताए । शुरुमा जोखिम न्यूनीकरण गर्ने उद्धेश्यले एटिआर˗७२ बाट परीक्षण उडान शुरु गर्न लागेको बस्नेतले बताए । कम्पनीले काठमाडौं˗कोलकाता परीक्षण उडानका लागि दुई जना आन्तरिक र दुई जना भारतीय क्याप्टेन तयार गरिसकेको जनाएको छ । ग्राउण्ड ह्याण्डलिङको काम भने एयर इण्डियाले गर्नेछ ।
काठमाडौं˗कोलकाता उडानका लागि बुद्ध एयरको भगिनी कम्पनी बुद्ध होलिडेजले केही सातामै अनलाइनमार्फत उडान सहितको विभिन्न तीर्थस्थल र पर्यटकीय गन्तब्य प्याकेज सार्वजनिक गर्ने प्रमुख कार्यकारी अधिकृत आस्था वस्नेतले बताइन् । हङकङ, थाइल्याण्ड, इण्डोनेसिया लगायतका मुलुकमा घुम्न जाने भारतीय र बंगाली पर्यटकलाई नेपालमा ल्याउने गरि प्याकेज बनाउने वस्नेतले बताइन्।
वस्नेतका अनुसार ०७८ भदौबाट पोखरा विमानस्थल संचालनमा आएपछि कम्पनीले थप नयाँ गन्तब्यमा पोखराबाट सीधा उडान गर्ने योजना बनाएको छ ।