निजी स्कुल गैरनाफामूलक बनाउन सरकार लाई सिफारिस |
काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले सबै निजी स्कुललाई गैरनाफामूलक बनाउन सरकार लाई सिफारिस गरेको छ । साथै सरकारबाट तलब लिने हरेकले आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने आयोगको प्रस्ताव छ ।
आयोगले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा संघीय ऐन लागू गर्दा निजी स्कुलहरुलाई गैरनाफामुलक बनाउन सिफारिस गरिएको छ ।
प्रारम्भीक प्रस्तावमा निजी स्कुलहरुलाई ७ वर्षमा गुठीमा ल्याउने प्रस्ताव गरिएको थियो । तर, अहिले संघीय शिक्षा ऐन लागू गर्दा नै निजी स्कुललाई गैरनाफामूलक बनाउन सिफारिस गरिएको छ ।
आयोगले आगामी ५ वर्षभित्र सबै स्कुलमा योग्य शिक्षक पुर्याउने लक्ष्य राखेको छ । हाल २४ हजार शिक्षक अपुग छन् । अहिले भएका शिक्षकलाई अपग्रेडको अवसर भने दिइनेछ । ‘ ४५ मिनेटको दुरीमा माध्यमिक विद्यालय र एक शिक्षक बराबर ४० विद्यार्थीको अनुपात मिलाइनेछ । १० वर्षभित्र सबै स्कुलको भौतिक संरचना समेत बनाइनेछ ।
१२ कक्षासम्मको शिक्षालाई निःशल्क मात्र नभई अनिवार्य पनि बनाउनुपर्ने आयोगको सिफारिस छ । राजनीतिक नियुक्ति अन्त्य गर्न बोर्ड अफ ट्रष्टीले उपकुलपतिहरु नियुक्त गर्नुपर्ने सिफारिस पनि उच्चस्तरीय शिक्षा आयोगको छ ।