एबीसीले अन्तरराष्ट्रिय गुणस्तरको ट्रान्सफर्मर उत्पादन गर्छ |
प्रतीक ढकाल
वरिष्ठ विक्री अधिकृत, एबीसी ट्रान्सफर्मर प्रालि
विद्युतीय उपकरणको रूपमा प्रयोग गरिने ट्रान्सफर्मर निर्माणमा छुट्टै पहिचान बनाएको एबीसी ट्रान्सफर्मर प्रालिले २५ वर्ष पुगेको अवसरमा आफ्नो रजत जयन्ती मनाइरहेको छ । १५ एमभीएदेखि ५० हजार एमभीए क्षमतासम्मका ट्रान्सफर्मरको उत्पादन गरेर व्यावसायिक रूपमा अगाडि बढिरहेको यस कम्पनीले नेपाली बजारमा १५ हजार एमभीए क्षमतासम्मको ट्रान्सफर्मर विक्री गरिसकेको छ । भारतको नोयडामा उद्योग स्थापना गरेको कम्पनीले १४ वटाभन्दा बढी देशमा ट्रान्सफर्मरको निर्यात गर्छ । नेपालमा ट्रान्सफर्मरको वर्तमान अवस्था, यस क्षेत्रका विभिन्न समस्या तथा चुनौती, कम्पनीको उत्पादनको विशेषता र आगामी योजनाका विषयमा कम्पनीका वरिष्ठ विक्री अधिकृत प्रतीक ढकालसँग आर्थिक पाटीका मदन लामिछानेले गरेको कुराकानीको सम्पादित अंश :
नेपालमा ट्रान्सफर्मरको व्यावसायिक अवस्था कस्तो छ ?
नेपालमा लोडसेडिङको अन्त्य भएपछि ट्रान्सफर्मरको व्यवसाय फस्टाउँदै गइरहेको छ । सरकारले विद्युतको सप्लाई बढाइरहेकाले व्यवसायीहरू पनि उत्साहित भएका छन् । पहिलाको जस्तो विद्युतकै कारण व्यवसाय डुब्ने अवस्था अहिले छैन । देशमा नयाँनयाँ उद्योगी, व्यवसायीहरू थपिने क्रम बढेको छ । उद्योग, व्यवसायहरू बढ्दै जाँदा ट्रान्सफर्मरको विक्री पनि बढ्दै गइरहेको छ । नेपालमा स्वदेशी र आयातित गरी करिब आधा दर्जन ट्रान्सफर्मर कम्पनीले आफ्ना उत्पादनहरू विक्री गरिरहेका छन् । नेपालमा विक्री हुने प्रमुख तीन ब्राण्डमा एबीसी ट्रान्सफर्मर पनि पर्छ ।
नेपालमा भएको विद्युतीकरणको करिब १५ प्रतिशत वितरणमा मात्रै ट्रान्सफर्मर लागेको छ । अझै ८५ प्रतिशत क्षेत्रमा यसको प्रयोग हुन बाँकी नै छ । तराईका ८्१० वटा जिल्लामा उद्योगहरू धेरै खुलेकाले ट्रान्सफर्मरको प्रयोग पनि धेरै भएको छ । तर, बाँकी जिल्लामा उद्योगधन्दा विस्तार हुने क्रममा छ । त्यो बजार हाम्रो लागि खाली नै छ । ती क्षेत्रमा आफ्नो बजार विस्तार गर्न हामी लागि परिरहेका छौं । हामीहरूले आफ्नो बजार विस्तारका लागि प्रोडक्टको गुणस्तर तथा विक्रीपछिको सेवालाई पनि बढाउँदै लगिरहेका छौं । नेपाल सङ्घीयतामा गइसकेपछि प्रदेश सरकारहरूले नयाँनयाँ प्रशासनिक भवनहरू निर्माण गरिरहेका छन् । त्यस्तै, शक्ति विकेन्द्रीकरणसँगै प्रदेशहरूमा पनि नयाँ उद्योगहरू खुल्ने क्रम बढेको छ । यसले गर्दा पनि ट्रान्सफर्मरको बजार फस्टाउँदै गइरहेको छ ।
एबीसी ट्रान्सफर्मरको विशेषता के हो ?
कम्पनीले शुरूआतदेखि नै परिमाणभन्दा गुणस्तरलाई जोड दिएर उत्पादन गर्दै आएको छ । हामीले ट्रान्सफर्मरभित्र प्रयोग गर्ने कपरमा लाइफ टाइम ग्यारेण्टी दिन्छौं । नेपाली बजारमा केही समयपहिले कपरको ठाउँमा आल्मुनियम राखेका ट्रान्सफर्मर आयात भई वितरण गरियो । त्यसैका लागि हामीले एबीसी ट्रान्सफर्मरमा प्रयोग गरिने कपरको लाइफ टाइम वारेण्टी दिएका हौं । हामीले विश्वमै गनिएका कम्पनीहरूबाट कोर आयात गरी प्रयोग गर्छौं । त्यस्तै, त्यसमा प्रयोग हुने आयल लेटेस्ट स्ट्याण्डर्ड्स आईएस ३३५ को प्रयोग गर्छौं । हामीले ट्रान्सफर्मरको बाहिरी लिकेज प्रुफ जाँच गर्नका लागि २्३ वटा टेस्ट गरेर त्यसलाई उद्योगमा पुनː टेस्ट गरेर मात्रै बजारमा पठाउँछौं । हामीले विश्वकै उत्कृष्ट कम्पनीबाट कच्चा पदार्थ खरीद गरी उत्पादन गर्ने भएकाले पनि एबीसी ट्रान्सफर्मर विश्वकै उत्कृष्ट ट्रान्सफर्मर बन्न सफल भएको हो । २५औं वर्षको रजत महोत्सव मनाइरहँदा यस कम्पनीले १४ वटाभन्दा बढी देशमा निर्यात गर्न सफल भइसकेको छ ।
एबीसी ट्रान्सफर्मर नेपाल सरकारअन्तर्गत विद्युत् प्राधिकरणले परीक्षण गरेपछि मात्रै कम्पनीले बजारमा पठाउने गर्छ । कम्पनीले यसलाई उचित बजार मूल्यमा विक्री गरिरहेको छ । हामीले विक्री गरेका ट्रान्सफर्मरको प्रत्येक वर्ष त्यसको चेकअप गर्ने गर्छौं । जसले गर्दा उद्योगी व्यवसायीहरू पनि ढुक्क छन् । एबीसी ट्रान्सफर्मर किन्ने उद्योगीहरूले यसको गुणस्तरका बारेमा बजारमा राम्रो प्रतिक्रिया दिइरहेकाले हाम्रो बजार तीव्र गतिले बढ्न सकेको हो ।
एबीसी ट्रान्सफर्मर कस्ताकस्ता प्रकारका छन् ? हाल नेपालमा विक्री भइरहेका ट्रान्सफर्मरका बारेमा बताइदिनुस् न ?
कम्पनीले हाल विभिन्न पाँच प्रकारका एबीसी ट्रान्सफर्मरको उत्पादन गरिरहेको छ । बजार क्षेत्र, व्यावसायिक भवन तथा साना उद्योगहरूमा डिष्ट्रिब्युसन ट्रान्सफर्मरको प्रयोग गरिन्छ । नेपालमा अहिले सबैभन्दा धेरै प्रयोग भइरहेको डिष्ट्रिब्यूसन ट्रान्सफर्मर हो । ठूलो क्षमताका लागि पावर ट्रान्सफर्मरको प्रयोग गरिन्छ । यस्ता ट्रान्सफर्मरको प्रयोग हाइड्रोपावर, सिमेण्ट, फलामे छडलगायत ठूला उद्योगमा गरिन्छ । सामान्यतया ५ एमभीए क्षमताभन्दा माथिको ट्रान्सफर्मरलाई पावर ट्रान्सफर्मर भनिन्छ । अर्को ड्राई टाइप ट्रान्सफर्मरमा आयल राखिएको हँुदैन । सामान्यतया अन्य ट्रान्सफर्मरहरूमा आयल राखिएको हुन्छ । यो ट्रान्सफर्मरको मूल्य अलि बढी पर्ने भएकाले नेपालमा यसको प्रयोग एकदमै कम भएको छ । एमरफस्ट ट्रान्सफर्मरमा सञ्चालन खर्च एकदमै कम लाग्छ । साथै, यसले आफैं पनि बिजुलीको खपत कम गर्छ । स्पेशल पर्पोज ट्रान्सफर्मर ग्राहकहरूको आवश्यकताका आधारमा डिजाइन गरी बनाइन्छ । जस्तो, सोलार, इन्भर्टर, फर्नेश, कन्भर्टर ड्युटी ट्रान्सफर्मरमध्ये ग्राहकले जस्तो प्रकारको ट्रान्सफर्मर माग गर्छन्, त्यसै आधारमा बनाएर उपलब्ध गराइन्छ ।
एबीसी ट्रान्सफर्मर प्रालिले १५ एमभीएदेखि ५० हजार एमभीए क्षमतासम्मका ट्रान्सफर्मरको उत्पादन गर्छ । हामीले नेपाली बजारमा १५ हजार एमभीए क्षमतासम्मको ट्रान्सफर्मर उत्पादन गरेर विक्री गरिसकेका छौं ।
हाइड्रोपावर प्रोजेक्टमा एबीसी ट्रान्सफर्मर कत्तिको खपत भइरहेको छ ?
हाइड्रोपावर प्रोजेक्टमा प्रयोग गरिने इलेक्ट्रो मेकानिकल ट्रान्सफर्मर धेरैजसो चीनबाट आयात भइरहेको छ । नेपालमा नै यस्ता ठूलो क्षमताका ट्रान्सफर्मर उपलब्ध छन् भन्ने जानकारी नभएर पनि चीनबाट आयात भएको हो । अर्को कुरा, चिनियाँ ठेकेदारले धेरै हाइड्रोपावर प्रोजेक्टहरूको ठेक्का लिएकाले उनीहरूले आफूले लिएको परियोजनाका लागि आवश्यक पर्ने सबै इक्विपमेण्टहरू चीनबाटै ल्याउने गर्दछन् । पछिल्लो समय हामीले एबीसी ट्रान्सफर्मरका बारेमा जानकारी दिँदै ५० हजार एमभीएसम्मको ट्रान्सफर्मर उत्पादन गरिरहेको जानककारी दिइरहेका छौं । साथै, हाइड्रोपावर प्रोजेक्टका मानिसहरूलाई बेलाबेलामा भारतमा रहेको कम्पनीको उद्योगमा भ्रमण पनि गराइरहेका छौं । यसपछि केही प्रोजेक्टहरूमा हामीले पावर ट्रान्सफर्मर विक्री पनि गरिसकेका छौं ।
एबीसी ट्रान्सफर्मरले नेपालमै ठूलो क्षमताको ट्रान्सफर्मर उपलब्ध गराउँदै आइरहेको छ। यसबाट व्यवसायीहरूलाई बाहिरबाट झन्झट बेहोरेर ठूलो क्षमताको ट्रान्सफर्मर आयात गर्नुपर्ने समस्या हटेको छ ।
कम्पनीले ट्रान्सफर्मरको गुणस्तर कायम गर्न के के पक्रिया गर्छ ?
नेपालमा एबीसी ट्रान्सफर्मरको विक्री विगत १० वर्षदेखि भइरहेको छ । पछिल्लो तीन वर्षयता हामी आक्रामक बजार विस्तारमा लागेका छौं । हामीले गुणस्तर र विक्रीपछिको सेवामा उपभोक्ताको मन जित्न सकेकाले छोटो समयमा नै नेपालमा विक्री हुने प्रमुख तीन ब्राण्डहरूमा एबीसी पर्न सफल भएको हो । कम्पनीले ट्रान्सफर्मरको ल्यावमा राम्रोसँग परीक्षण गरेपछि मात्रै बजारमा ल्याउने गर्छ । नेपाल सरकारको ल्यावमा पनि परीक्षण गरेपछि मात्रै यसको विक्री गरिन्छ । ट्रान्सफर्मरको विक्री बढाउन गुणस्तर, क्षमता, कार्यदक्षता र विक्रीपछिको सेवा महत्वपूर्ण हुन्छ । हाम्रो कम्पनीले यी सबै सुविधाहरू दिएर उपभोक्ताको मन जित्दै आएको छ ।
ट्रान्सफर्मर व्यवसायमा प्रतिस्पर्धा कस्तो छ ?
ट्रान्सफर्मरको बजारमा स्वस्थ प्रतिस्पर्धा छ । ग्राहकहरू पहिलेभन्दा धेरै सचेत भइसकेका छन् । ट्रान्सफर्मर किन्दा कसैले पनि नबुझेर किन्दैनन् । ग्राहकहरूले बजारमा उपलब्ध सबै ब्राण्डको गुणस्तर, विक्रीपछिको सेवा, मूल्य आदिका बारेमा बुझेर मात्रै खरीद गर्ने गर्छन् ।
ट्रान्सफर्मर आयातका लागि सरकारी नीति कत्तिको सहयोगी छ ?
सरकारी नीतिले ट्रान्सफर्मर आयातमा कुनै समस्या पारेको छैन । सरकारले ट्रान्सफर्मर आयातमा भन्सार शुल्क अलि बढी लिइरहेको छ । यसमा सरकारले केही सहुलियत दियो भने अरू कुरामा कुनै समस्या छैन ।
नेपालमा नयाँ ट्रान्सफर्मर उद्योग खोल्ने सम्भावना छ कि छैन ?
एबीसी ट्रान्सफर्मरले तत्काल नेपालमा उद्योग खोल्ने सोच बनाएको छैन । तर पनि ट्रान्सफर्मर उद्योग खोल्नेबारेमा पहिलो चरणको प्रारम्भिक अध्ययन भने गरेका छौं । नेपालबाट उत्पादन शुरू गर्दा मूल्य बढने देखिन्छ किनभने भारतमा हामीले उत्पादन गरि रहेको ठाउँकोभन्दा यहाँको कामदारको ज्याला बढी छ । हामीले यहाँ उत्पादन गर्दा अहिले बेचिरहेको मूल्य र गुणस्तरमा ट्रान्सफर्मर दिने चुनौती छ ।
केही समयअगाडिसम्म नेपालमा भइरहने बन्द, हडताल र लोडसेडिङले गर्दा यहाँ उद्योग खोल्न त्यति उपयुक्त देखिएको थिएन । अहिलेको राजनीतिक स्थिरतापछि यहाँ औद्योगिक वातावरण बन्दै गइरहेको देखिन्छ । हामी यसको अध्ययनकै नै चरणमा छौं ।
कम्पनीले विक्रीपछिको सेवा कसरी दिइरहेको छ ?
हामीहरूले उपभोक्तालाई सजिलो होस् भनेर सर्भिस सेण्टरहरू थप्दै लगेका छौं । ट्रान्सफर्मरमा कमै समस्या आउने गर्छ । ट्रान्सफर्मरका कारणले त्यसको प्रयोगकर्तालाई सानो पनि नोक्सानी नहोस् भन्ने कुरामा हामी सचेत छौं । हामीले कुनै ठाँउबाट गुनासो वा समस्या आयो भने तुरुन्तै सेवा दिन्छौं । हामीले समयसमयमा गएर ट्रान्सफर्मरमा केही समस्या आएको छ कि छैन भनेर फलोअप गरिरहेका हुन्छौं । यसले गर्दा उद्योगीहरू एबीसी ट्रान्सफर्मरकको सेवादेखि एकदमै सन्तुष्ट हुनुहुन्छ ।
हामीले नेपाली बजारमा ४ हजारभन्दा बढी ट्रान्सफर्मर विक्री गरिसकेका छौं । प्रत्येक वर्ष हाम्रो विक्री २० प्रतिशतले बढिरहेको छ । आउने वर्षहरूमा विक्री अझै बढ्ने अवस्था देखिएको छ । एबीसी ट्रान्सफर्मरको विक्री उच्च गतिले बढेपछि हामीले २ वर्षको वारेण्टीलाई बढाएर ५ वर्ष गराइसकेका छौं । हामीले ट्रान्सफर्मरमा समस्या खासै आएको नपाएपछि वारेण्टी अवधि बढाएका हौं । यसले उद्योगी व्यवसायीहरूलाई अझ ढुक्क बनाएको छ ।
एबीसी ट्रान्सफर्मरको प्रयोग कुनकुन क्षेत्रमा बढी भएको छ ?
हाम्रा ट्रान्सफर्मरहरू वितरण, उद्योग, हाइड्रोपावर, ठूला भवन, सिँचाइँ, अस्पताललगायतका ठाउँहरूमा जडान भएका छन् । नेपालमा हाम्रो कम्पनीका ४ हजारभन्दा बढी ट्रान्सफर्मरका सन्तुष्ट ग्राहकहरू छन् । म सम्पूर्ण उद्योगी व्यवसायीहरू जसलाई ट्रान्सफर्मरको आवश्यकता छ, उहाँहरूलाई हाम्रो अफिसमा आएर ट्रान्सफर्मरकका बारेमा बुझ्न आग्रह गर्छु । सेण्टर वर्कसप हेटौंडामा चेकअप भएर बजारमा जाने भएकाले यसलाई देशभर जुनसुकै ठाउँमा पनि बिनाकुनै झन्झट जडान गर्न सकिन्छ ।
कम्पनीको नयाँ योजना के छ ?
एबीसी ट्रान्सफर्मरले गुणस्तरमा कहिल्यै सम्झौता गर्दैन । आगामी दिनमा पनि ट्रान्सफर्मर उत्पादनमा आउने अत्याधुनिक प्रविधिहरूलाई आत्मसात् गर्दै त्यसैअनुसारका उत्पादनहरू दिएर ग्राहकलाई सन्तुष्ट बनाउने उद्देश्य कम्पनीको रहेको छ । हाल पनि कम्पनीले उत्पादन गर्ने हरेक उत्पादनको ल्याव टेस्ट पनि उच्चस्तरीय प्रविधिबाटै गराइरहेका छौं । कम्पनीले ट्रान्सफर्मरभित्र प्रयोग गरिने कपर, आयल, कोरहरू आईएसओप्राप्त कम्पनीहरूको मात्रै प्रयोग गर्छ ।