स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशालाको तेस्रो संस्करण सम्पन्न | शून्य ऊर्जा शीत भन्डार र दुग्ध मिसावट पत्तालगाउने अवधारणालाई १⁄१ लाख पुरस्कार
काठमाडौं । स्वीजरल्यान्डमा अध्ययनरत तथा कार्यरत नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपलिज साइन्टिफिक एशोसियसन इन स्वीजरल्यान्ड (नेपसास) ले ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’ को आयोजना गरेको छ । यो नेपालमा आयोजना गरिएको यस्तो प्रविधि हस्तान्तरण सम्बन्धी तेस्रो संस्करण हो ।
यस वर्ष सहभागी भएका करिव ८० प्रतियोगीहरू मध्ये शून्य ऊर्जा शीतभन्डार र दुग्ध मिसावट पत्तालगाउने ‘किट’ सम्बन्धी स्टार्टअप अवधारणाहरूले एक– एक लाख रुपैयाँको पुरस्कार जितेका छन् ।
देशभरीबाट खुलारूपमा आह्वान गरिएको प्रतिस्पर्धामा ५ सय भन्दाबढीले आवेदन गरेकोमा प्रारम्भिक चरणमा ८० जनालाई चयन गरिएको थियो । नेपालमै पहिलो पटक ‘स्पिड डेटिङ’ को अवधारणाबाट ती मध्ये समान किमिसका अवधारणा मिल्ने ५४ जनालाई छनौट गरी १७ टिममा विभाजित गरिएको नेपसासका अध्यक्ष रञ्जन मिश्रले जानकारी दिए ।
ती १७ वटै टिमलाई विभिन्न क्षेत्रका ३५ भन्दा अधिक प्रविधि र व्यवसाय क्षेत्रका गुरुहरूले चार दिनसम्म विज्ञान तथा प्रविधिमा आधारित उद्यम ( स्टार्टअप) अवधारणाका विभिन्न आयाम बारे ज्ञान प्रदान गरेका थिए । काठमाडौंको गेट कलेजमा आयोजित उक्त कार्यक्रमका सहभागीहरू लाई निːशुल्क सहभागिताको व्यवस्था गरिएको थियो भने उपत्यका बाहिरका सहभागीहरू लाई यातायात र आवासको व्यवस्थासमेत गरिएको थियो ।
अन्तिम प्रतिस्पर्धामा चयन भएका १० समूह मध्ये शून्य ऊर्जा शीतभन्डार र दुग्ध मिसावट पत्तालगाउने ‘किट’ सम्बन्धी स्टार्टअप अवधारणाहरूले एक हजार स्वीस फ्राङ्क (१ लाख रुपैयाँभन्दा बढी) को प्रथम पुरस्कार जितेका हुन् । ती दुवै अवधारणाले नेपाल स्थित स्वीजरल्यान्डको दूतावासबाट थप १ हजार अमेरिकी डलर पाउने छन् भने ‘वल्र्ड इनोभेसन फोरम’ मा नेपालको तर्फबाट सहभागिता जनाउन पाउने छन् ।
प्रतिस्पर्धाका विजयीहरू लाई नेपाल स्थित स्वीजरल्यान्डका राजदूत एलिजावेथ भनकप्लर र स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजीका जैविक विज्ञान ( सेल बायोलोजी र बायोकेमेस्ट्री) का प्राध्यापक म्याथिस पिटरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकका थिए ।
यस वर्षदेखि नेपसासले कार्यशालामा प्रस्तुत गरिने उत्कृष्ट अवधारणाहरूका लागि वर्ष भरिकै परामर्श, सँगै कार्य गर्ने स्थल र बीज पुँजी प्रदान गरिने मिश्रले जानकारी दिए । आवश्यक परेको समयमा उत्कृष्ट अवधारणाले आन्स्टाइनले अध्ययन गरेको विश्वविद्यालय स्वीस फेडरल इन्स्टिच्यूटका इनोभेसन सेन्टरहरूमा पहुँच पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रमको पहिलो दिन हेल्स यूग्रीनका अंकितअग्रवालले फूलका पुनःप्रयोगका माध्यमबाट गंगा संरक्षण अभियानमा आफूले सञ्चालन गर्दै आएको स्टार्टअप उद्यमको बारेमा जानकारी दिएका थिए । त्यस्तै दोस्रो आइडिया स्टूडियोका सह–संस्थापक रूपेश कृष्ण श्रेष्ठले स्टार्टअप अवधारणाहरू लाई दिगो व्यवसायमा परिणत गर्ने मन्त्रहरू प्रदान गरेका थिए ।
नेपसासले युवाहरू माझ विज्ञान तथा प्रविधिमा आधारित उद्यम (स्टार्टअप) हरू प्रवद्र्धन गर्दै आइरहेको छ । नेपसासले हालको प्रतिभा पलायन (ब्रेन ड्रेन) लाई दिगो र समृद्ध प्रतिभा प्राप्तिमा बदलिने लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिका लागि संस्थाले युवालाई त्यस्ता विज्ञता हासिल गरेका व्यक्तिहरू जो अनुभवी परामर्शकर्ता÷गुरुका रूपमा योगदान दिन चाहन्छन्, उनीहरु सँग सम्पर्क गराउने मञ्चहरू उपलब्ध गराउँदै आइरहेको नेपालिज साइन्टिफिक एशोसियसन इन स्वीजरल्यान्ड (नेपसास) का अध्यक्ष रञ्जन मिश्रले बताए ।
सन् २०१७ देखि नेपसासले स्थानीय चुनौती र अवसरहरूलाई सम्बोधन गर्दै सम्भाव्य नवउद्यम (स्टार्टअप) मा परिणत गर्ने वैज्ञानिक अवधारणाहरू लाई सहयोग गर्न काठमाडौंमा वार्षिक कार्यशालाको आयोजना गर्दै आएको छ ।
कार्यशालाको विशिष्ट पक्षमा परामर्श कार्यक्रम रहेको छ, जुन कार्यशाला पछि पनि सहभागीहरू लाई निरन्तर आफ्नो लक्ष्य हासिल गर्न सक्षम बनाउने गरि परिकल्पना गरिएको छ ।
कार्यक्रमको अन्तिम दिन ‘स्वीस अपेरो’ को आयोजना गरिएको थियो, जसको प्रमुख आतिथ्य शिक्षामन्त्री गिरिराजमणी पोखरेलले गरेका थिए ।