आठ कम्पनीले १ अर्ब ३० करोडको हकप्रद शेयर विक्री गर्न पाए अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको हालसम्ममा जम्मा आठ कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले छवटा माइक्रोफाइनान्स कम्पनी र दुईवटा बीमा कम्पनीलाई गरी जम्मा १ अर्ब ३० करोड ५६ लाख ७६ हजार ५ सय रुपैयाँबराबरको कुल १ करोड ३० लाख ५६ हजार ७ सय ६५ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।
बोर्डले एभरेष्ट इन्स्यारेन्स कम्पनीलाई १ः१.५ बराबरको दरले १४ लाख ३ हजार ३ सय २५ कित्ता हकप्रद शेयर १४ करोड तीन लाख ३२ हजार ५ सय रुपैयाँमा विक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, बोर्डले सूर्य लाइफ इन्स्यारेन्स कम्पनीलाई १०ः७ कित्ताका दरले ७९ करोड २३ लाख ३० हजार रुपैयाँबराबरको ७९ लाख २३ हजार ३ सय कित्ता हकप्रद शेयर विक्रीको अनुमति दिएको छ । सो कम्पनीको शेयर विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल रहेको छ ।
त्यसैगरी, हकप्रद शेयर निष्कासनको अनुमति पाउने लघुवित्तहरूमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।
बोर्डले स्वदेशी लघुवित्त वित्तीय संस्थालाई १ः१ का दरले ११ लाख ५० हजार कित्ता हकप्रद शेयर ११ करोड ५० लाख रुपैयाँबराबरको शेयर विक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई २ः१ का दरले ३ लाख कित्ता हकप्रद शेयर ३ करोड रुपैयाँबराबरको शेयर विक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्थालाई १ः१ का दरले १६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता हकप्रद शेयर विक्रीको अनुमति दिएको छ । यसको विक्री प्रबन्धकमा नबिल इन्भेस्टमेण्ट रहेको छ ।
त्यसैगरी, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि २ः१ का दरले दुई करोड ४० लाख २५ हजार रुपैयाँबराबरको २ लाख ४० हजार २ सय ५० कित्ता शेयर विक्रीको अनुमति दिएको छ । यसको विक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
त्यस्तै, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थालाई ५ः१ का दरले १ करोड १० लाख रुपैयाँको १ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ । यसको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
मिथिला लघुवित्त वित्तीय संस्थालाई २ः१ का दरले ३ करोड २९ लाख ८९ हजार रुपैयाँको ३ लाख २९ हजार ८ सय ९० कित्ता हकप्रद शेयर विक्रीको अनुमति दिएको छ । यसको विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल रहेको छ ।