प्राधिकरणको अवधि दुई वर्ष बाँकी छ, त्यतिञ्जेलसम्ममा पुनर्निर्माणका सबै काम सक्छौं : ज्ञवाली |
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको अवधि अब २ वर्ष रहेको र उक्त समयभित्रमै पुनर्निर्माणका सबै काम सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संघीय संसद्को राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा पुनर्निर्माणको प्रगतिविवरण र आगामी कार्ययोजनाबारे बताउँदै त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले हालसम्ममा निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत, विद्यालय भवन पुनर्निर्माणमा ८० प्रतिशत, सरकारी भवन पुनर्निर्माणमा ९५ प्रतिशत, पुरातात्विक सम्पदा पुनर्निर्माणमा ६८ प्रतिशत, सुरक्षा निकाय पुनर्निर्माणमा ५४ प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘स्पष्ट लक्ष्य र योजनाका साथ काम अघि बढाएकाले बाँकी कामहरू २०७७ साल पुस १२ गतेभित्र सम्पन्न गर्नेछौं ।’ उनले अनुदान सम्झौता गरेकामध्ये ९९ प्रतिशत भूकम्पपीडितले पहिलो किस्ता लिइसकेको र उनीहरू सबैलाई घर पुनर्निर्माण गर्न आग्रह गरे ।
उनले पुनर्निर्माणका कामलाई थप सहजीकरण गर्नका लागि प्राधिकरणले साधन स्रोत उपलब्ध गराउने गरी स्थानीय तहहरूलाई जिम्मेवारी हस्तान्तरण प्रक्रियालाई अघि बढाइएको जानकारी दिए । उनले भने, ‘स्थानीय तहसँगको सहकार्यमा यसअघि छुट भएकाहरूको पुनः सर्वेक्षण हुन्छ र पुनर्निर्माणका कार्यहरूमा सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’
बैठकमा सांसदहरूले निजी आवास पुनर्निर्माण, एकीकृत बस्ती, सम्पदा पुनर्निर्माण, पुनर्निर्माणमा वैदेशिक सहयोग, गैरसरकारी संस्थाहरूको भूमिकालगायतबारे जिज्ञासा राखेका थिए ।