शिवश्रीका प्रभावितका लागि आईपीओ आजदेखि खुल्ला | १४ लाख ७६ हजार ४ सय कित्ता प्रभावितका लागि, सर्वसाधारणका लागि २२ लाख १४ हजार
काठमाडौं । २२.२ मेगावाट क्षमताको अपर चाकु ए जलविद्युत आयोजना निर्माण गरिरहेको शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई आजदेखि साधारण शेयर जारी गरेको छ । कम्पनीले १४ लाख ७६ हजार ४ सय कित्ता शेयर प्रभावित बासिन्दाका लागि निष्कासन गरेको हो । उक्त शेयरका लागि आवेदन दिने अवधि माघ ११ गतेसम्म रहेको छ ।
कम्पनीले उक्त परिमाणको शेयर सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाअन्तर्गतका प्रभावित बासिन्दाका लागि निष्कासन गरेको हो ।
प्रभावित क्षेत्रका बासिन्दाले सिन्धुपाल्चोक जिल्लामा रहेका बैंकहरू सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र शिव श्री हाइड्रोपावरको कार्यालय भोटेकोशी र अनामनगरबाट आवेदन दिन सक्ने बताइएको छ । यसका साथै उक्त कम्पनीको शेयरको निष्कासन र विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्सालबाट पनि पाइनेछ ।
प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेपछि कम्पनीले २२ लाख १४ हजार ६ सय कित्ता प्राथमिक शेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ । उक्त कम्पनीको क्रेडिट रेटिङ ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रहेको छ । इक्रा नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय विवरण औसत किसिमको रहेको हुँदा औसत जोखिमको संकेत गर्दछ ।
सिन्धुपाल्चोक जिल्लामा निर्माण भइरहेको अपर चाकु ए जलविद्युत आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएकाले अन्तिम चरणको निर्माण कार्य भइरहेको कम्पनीले बताएको छ ।
उक्त आयोजना निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिए पनि भूकम्प र जुरेपहिरोले गर्दा ढिला हुन गई जम्मा लागत ४ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अब उक्त आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ६० लाख रुपैयाँबाट बढेर १८ करोड २० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ८ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ ।