सुडानमा पाउरोटीको मूल्य बढ्दा प्रदर्शन, अहिलेसम्ममा २२ को मृत्यु |

काठमाडौं । सुडानमा सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । खार्तुममा हजारौं प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले आज शुक्रवार बताएका छन् ।
सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोशित प्रदर्शनकारीले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउण्डबाट तीन पाउण्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ ।
मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापी रूपमा प्रदर्शन भइरहेको समाचारमा उल्लेख छ । खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एक मात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका सर्वसाधारणमाथि प्रहरीले अश्रु ग्याँस हानेको प्रत्यक्षदर्शीले बताएका छन् । झडपमा सयौं प्रदर्शनकारी घाइते भएको अधिकारीहरूले बताएका छन् । गैरकानूनी रुपमा ओम्डुम्र्यान सडकमा जम्मा भएका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्याँस हानेको प्रहरी प्रवक्ता हासिम अब्देलरहिमद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।
त्यसैगरी चिकित्सकहरूद्वारा प्रकाशित विज्ञप्तिमा अस्पतालभित्रै प्रहरीले अश्रु ग्याँस र गोली प्रहारसमेत गरेको बताइएको छ । स्वास्थ्य अधिकारीहरूले अन्य ८० जना पनि गोली लागेर घाइते भएको र उनीहरूको उपचार भइरहेको बताएका छन् । अहिलेको आन्दोलनलाई सन् १९८९ मा राष्ट्रपति ओमार अल बशिरले शक्ति हत्याएयताकै सबैभन्दा गम्भीर नागरिक असन्तोषका रूपमा लिइएको छ ।
प्रदर्शनकारीहरूले सत्ता परिवर्तनको माग गरिरहेका छन् । विद्यालयहरू बन्द छन् भने पत्रिकाहरूलाई पनि प्रकाशन नगर्न आदेश दिइएको छ । केही घण्टासम्म इन्टरनेट समेत बन्द रहेको थियो । प्रदर्शनकारीहरूले सामाजिक सञ्जालका वेबसाइटहरूमार्फत आन्दोलनमा सहभागी हुन मानिसहरूलाई आह्वान गरिरहेका छन् । (स्रोत :एजेन्सी)