माथिल्लो तामाकोशीको प्राथमिक शेयर आइतवारदेखि दोस्रो बजारमा | न्यूनतम मूल्य ७४ रुपैयाँ, बढीमा २२४ रुपैयाँसम्म
काठमाडौं । हिजो बिहीवार सूचिकृत भएको माथिल्लो तामाकोशीको प्राथमिक शेयर पर्सि आइतवारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । उक्त शेयर पहिलोपटक कारोबार ७४ रुपैयाँदेखि २२४ रुपैयाँको बीचमा हुने भएको छ ।
कम्पनीले बिहीवार नेपाल स्टक एक्सचेन्जमा १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत गरेको छ । यो शेयर दोस्रो बजारमा आइतवारदेखि कारोबार गर्न पाइनेछ । जसमध्ये प्रभावित क्षेत्रका लागि निष्कासन गरेको १० प्रतिशत शेयर तीन वर्षका लागि लक गरिएको छ ।
कम्पनीले सञ्चयकर्ताका लागि पनि तीन वर्षकै लागि लकिङ पिरियड तोकेर शेयर जारी गरेको थियो । तर, सर्वसाधारणलाई शेयर जारी गरी दोस्रो बजारमा सूचिकृत हुँदासम्ममा तीन वर्ष वितिसकेकाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले पनि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।डिम्याट भएका सञ्चयकर्ताले आफ्नो शेयर दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।
कम्पनीको तीन चरणमा सार्वजनिक शेयर जारी गरेको थियो । दोस्रो बजारमा सूचिकृत भएसँगै माथिल्लो तामाकोशी सबैभन्दा धेरै शेयर धनी अर्थात् ८ लाखभन्दा धेरै शेयरधनी भएको कम्पनी हुनेछ ।