विज्ञापन विधेयक पुग्यो संसदमा | अब विदेशी च्यानल विज्ञापनरहित हुँदै, ५ अर्बको विज्ञापन थपिने
काठमाडौं । नेपालमा क्लिन फिड नीति लागू हुने भएको छ । त्यसका लागि बनेको विधेयकको मस्यौदा मन्त्रिपरिषद्ले पारित गरिसकेपछि सरकारले संसदमा पुर्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको उक्त ऐनको मस्यौदा संसद्ले पारित गरेर कार्यान्वयनमा आएसँगै क्लिन फिड नीति लागू हुनेछ ।
यो ऐन कार्यान्वयनमा आएपछि ५ अर्बको विज्ञापन बजार थपिएर १८ अर्बको हुने बताइएको छ । हाल नेपालको विज्ञापन बजारको आकार करिब १३ अर्ब रहेको बताइन्छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भने, ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पुगेको छ, त्यो पास भएर कार्यान्वयनमा आएपछि क्लिन फिड नीति लागू हुन्छ ।’ उनले भने, ‘क्लिन फिड देशको पक्षमा छ, यो कार्यान्वयनमा आएपछि विज्ञापन बजारको हिस्सा १२१३ अर्बले वृद्धि हुन्छ ।’
केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा २०७३ साउन ७ गतेको मन्त्रिपरिषद् बैठकले २०७४ साउन १ गतेदेखि क्लिन फिड नीति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त नीति लागू हुन दिएका थिएनन् । यो नीतिको केवल टेलिभिजन महासंघले पनि विरोध गर्दै आइरहेको छ । क्लिन फिड नीति कार्यान्वयनमा आएसँगै कुनै पनि विदेशी च्यानलमा विज्ञापन प्रचारप्रसार गर्न पाइने छैन । साथै, विदेशी विज्ञापनमा नेपाली आवाज भरेर बजाउन पनि पाइँदैन् ।
नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजालले क्लिन फिडलाई व्यापार र राष्ट्रियतासँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘क्लिन फिड व्यापार मात्रै होइन, यो मुलभूत रुपमा राष्ट्रियता हो । यद्यपि यसले नेपालमा ५ अर्बको विज्ञापन बजार उपलब्ध गराउँछ । तर पनि यो व्यापारभन्दा राष्ट्रियताकै पक्ष हो । विदेशी च्यानलमा आउने विज्ञापनले नेपाली भाषा र संस्कृतिमाथि ठाडो हस्तक्षेप भइरहेको छ । त्यसलाई रोक्न पनि क्लिन फिड नीति अघि सारिनुपर्छ ।’