नेपालीको जापानमा रोजगारी गर्ने सपना साकार हुँदै | जापानमा नेपाली कामदार पठाउनेसम्बन्धी सम्झौता शीघ्र हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । नेपाली युवायुवतीहरूको जापानमा गई रोजगारी गर्ने सपना अब भने पूरा हुने निश्चित भएको छ । नेपाल र जापानबीच अब जापानमा नेपाली कामदार पठाउने विषयमा छिट्टै नै श्रम सम्झौता हुने भएको छ ।
हाल नेपाल भ्रमणमा रहेका जापानी परराष्ट्रमन्त्री तारो कोनो र नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच आज बिहीवार बिहान भएको द्विपक्षीय छलफलमा यस्तो सहमति भएको हो ।
उक्त छलफलपछि आयोजित पत्रकार सम्मेलनमा जापानमा नेपाली कामदार पठाउने विषयमा दुई देशबीच शीघ्र सम्झौतापत्रमा हस्ताक्षर गर्ने विषयमा सहमति भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
दुईदिने नेपाल भ्रमणमा रहेका जापानी परराष्ट्रमन्त्री र नेपाली समकक्षीबीच भएको वार्तामा नेपालले जापानको संसद्बाट हालै पास भएको कामदार भर्नासम्बन्धी कानूनको स्वागत गर्दै नेपाललाई पनि कामदारको स्रोत देशको रूपमा राखेकोमा धन्यवाद दिएको थियो ।
‘हामीले जापानको नयाँ अध्यागमन नीतिअनुसार जापानमा कामदार पठाउने विषयमा आपसी धारणा राखेका छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मैले नेपाललाई स्रोत देशको रूपमा राखेकोमा जापान सरकारलाई धन्यवाद दिएँ । छिट्टै यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने सहमति भएको छ ।’
परराष्ट्रमन्त्री ज्ञवालीले दुई साताको अन्तरालमा जापानी विदेशमन्त्रीसँग दुई पटक भेट भएको भन्दै छलफल सफल भएको जानकारी दिए । छलफलमा दुबै पक्षबीच आपसी समझदारी, क्षेत्रीय तथा विश्वव्यापि मुद्दाहरूमा फलदायी छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
‘मैले नेपालको सामाजिक आर्थिक विकासमा जापान सरकारले पुर्याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरें,’ उनले भने, ‘हामीले एउटा प्रमुख विकास साझेदार र लागनीकर्ता र पर्यटनको दृष्टिमा ठूलो साझेदार राष्ट्रको रूपमा जापानलाई लिएका छौं ।’
मन्त्री ज्ञवालीले नेपाल सरकारको विकास तथा समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यका बारेमा जापानी समकक्षीलाई जानकारी गराएको बताए ।