साझाका २० वटा नयाँ बस नेपाल आइपुग्दै | साझा यातायातसँग ३० करोड रुपैयाँबराबरको शेयर प्रदेश ३ सरकारले किन्ने
काठमाडौं । साझा यातायातले ल्याउन लागेका भनिएका थप २० वटा बस केही दिनमै नेपाल आइपुग्ने बताइएको छ । साझा यातायातले काठमाडौं र ललितपुर महानगरपालिकासमेतको संयुक्त लगानीमा ती बस नेपाल ल्याउन लागेको हो ।
नयाँ २० बस निर्माण भएर तयारी अवस्थामा रहेको र केही दिनभित्रै नेपाल आइसक्ने साझा यातायातले जानकारी दिएको छ । साझाका एक अधिकारीले भने, ‘एक दुई दिनमै भारतबाट बसहरू नेपालका लागि छुट्छन् । भन्सार प्रक्रिया पास भएर आउन केही समय लाग्छ ।’
साझा यातायातका अनुसार काठमाडौंको अव्यवस्थित शहरी यातायात सेवालाई व्यवस्थित बनाउन ठूला बसको आवश्यकता महसुस गरिएकाले ती ठूला बस ल्याउन लागिएको हो । साझा यातायातका अनुसार अब नेपाल आउने नयाँ बसहरूलाई पुरानै रुटमा थप्ने र आवश्यक देखिए केही नयाँ रूटमा पनि सेवा थाल्ने योजना बनाइएको छ ।
अब आउने बस पनि अन्तरराष्ट्रिय मापदण्डअनुरुपका हुने तथा सिट क्षमता पनि ४० रहने बताइएको छ । यस्ता बस शारीरिक रूपमा अशक्त व्यक्तिका लागि पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ । बस आपूर्तिका सबै जिम्मा भारतीय कम्पनी अशोक लेल्यान्डले पाएको थियो ।
साझा यातायातले निकट भविष्यमा नै विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ । काठमाडौं महानगरपालिकाले यो वर्ष साझालाई नयाँ बस किन्नका लागि ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड शेयर लगानी गरेको छ । यस्तै, ३ नम्बर प्रदेशको सरकारले पनि साझा यातायातसँग ३० करोड रुपैयाँबराबरको शेयर किन्ने भएको छ । यो रकमबाट साझाले प्रदेशका मुख्य पाँच शहरमा विद्युतीय बस चलाउनेछ ।
प्रदेश ३ सरकारले २०८५ सालभित्र प्रदेशका पाँचवटा शहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीतिलाई कार्यान्वयन गर्न त्यस्ता बस सञ्चालन गर्न लागेको हो । काठमाडौं महानगरपालिका पनि विद्युतीय बस खरिदका लागि लगानी गर्न तयार रहेको बताएको छ । ललितपुर महानगरले पनि सानो भए पनि लगानी गर्ने बचन दिएको छ ।
काठमाडौं महानगरका मेयर प्रमुख विद्यासुन्दर शाक्यले विद्युतीय सवारी विस्तार गर्न महानगरले यसै वर्ष अर्को १० करोड बजेट विनियोजन गरेका छन् ।
साझा यातायात लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको छ ।