क्यान इन्फोटेक मेला माघ १५ देखि २० गतेसम्म हुने | नयाँ–नयाँ प्रविधिको अवलोकनसँगै जागिरको अवसर पनि
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । क्यान महासंघको आयोजनामा माघ १५ देखि २० गतेसम्म क्यान इन्फोटेक २०१९ हुने भएको छ ।
क्यान महासंघले आज पत्रकार सम्मेलन मार्फत क्यान इन्फोटेक आयोजना सम्बन्धी जानकारी गराएको हो । काठमाडौँको भृकुटी मण्डपमा ६ दिन हुने मेलालाई सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोशियशन विथ इ–सेवा नाम दिइएको छ ।
काठमाडौ बाहिर प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३, प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३०, प्रदेश ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिएको छ ।
ʽनयाँ नयाँ प्रबिधिको अवलोकनसँगै जागिरको अवसरपनिʼ भन्ने नाराका साथ आयोजित मेलामा सूचना तथा सञ्चार प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने छ । यस पटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रबिधि समेत समावेश गर्ने प्रयास गरिएको आयोजकले बताए ।
मेलामा प्रत्येक ३–३ घण्टामा चिठ्ठा मार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ । साथै प्रत्येक दिन १ जनालाई बम्पर पुरस्कारको पनि व्यवस्था गरिने बताइएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने छ ।
सूचना प्रबिधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विधार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कूल १७५ वटा स्टल रहने छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र बिधार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । साथै अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट हुने क्यान महासंघका महासचिव रञ्जीतकुमार पोदारले बताए ।