बुद्ध एयरले मार्च १ देखि राजविराजको उडान शुरु गर्ने |

काठमाडौं । बुद्ध एयरले मार्च १ देखि जनकपुरको राजविराजमा उडान शुरु गर्ने भएको छ । यसका लागि कम्पनीले राजविराज र जनकपुर विमानस्थलमा ईन्धन तथा रात्रीकालिन उडानको ब्यवस्था गर्नका लागि प्रदेश नं २ सरकारसमक्ष माग गरेको छ ।
कम्पनीले जनकपुर भारतीय पर्यटकको लागि पर्यटकिय स्थल भएपनि सोहि अनुसार विमानस्थलको पुर्वाधार तथा ईन्धन रिफ्युल सेन्टर स्थापना गरिदिन आह्वान गरेको हो । हाल प्रदेश नं २ मा संचालनमा रहेका ३ वटा विमानस्थलमध्ये सिमरा र जनकपुर विमानस्थलमात्र पूर्ण संचालनमा रहेको छ । राजविराज बिमानस्थल भने आंशिकरुपमा मात्र संचालनमा रहेको छ ।
उक्त प्रदेशमा ३ ओटा विमानस्थल रहेपनि जहाजलाई आवश्यक पर्ने इन्धनको कुनै सुविधा नभएको र त्यसको यथोचित व्यवस्था गरिदिन प्रदेश २ का मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रदेश दुईको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, नागरिक उड्डयन कार्यालय राजविराज, नागरिक उड्डयन कार्यालय धनुषा, नागरिक उड्डयन कार्यालय बारा समेतलाई ध्यानाकर्षणमा बोधार्थ गरेको छ ।
पछिल्लो समय विमानस्थलको स्तरोन्नति भएपनि बिभिन्न कारणले यसमा नियमित उडान संचालन हुन सकेको छैन । राजविराजमा यी बाहेक अन्य अनेकौं सम्भाव्यता रहेपनि उडान नियमित गर्न इन्धनको अभावले यो विमानस्थलमा ठूला विमान कम्पनीहरूले सेवा प्रदान गर्न नसकिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
उक्त क्षेत्रमा उडान नियमित गर्नसके दक्षिण सीमावर्तीय भारतीय पर्यटक र उत्तर पहाडी, हिमाली भेगका जनतालाई अति नै उपयोगी सावित हुने कम्पनीले जानकारी दिएको छ । जनकपुर विमानस्थलमा समेत ईन्धन रिफ्युलर र रात्रीकालिन उडानको सुविधा नभएको हुनाले आफ्नो माग अनुसार उडान संचालन गर्न नसकेको कम्पनीले जानकारी दिएको छ । उसले सिमरा विमानस्थलमा पनि रिफ्युलरको व्यवस्था भए व्यापारिक नाका वीरगन्जमा ओहोरदोहोर गर्ने व्यापारीबर्गलाई समेत पायक पर्ने गरि उडान थप्ने जनाएको छ ।