सरकार नयाँ तथ्यांक निर्माणमा अघि बढेको छ, गलत सुचना दिदैनː प्रधानमन्त्री |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा आफूले तथ्यमा आधारित भएर बोलेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले आईतबार संघीय संसद् प्रतिनिधिसभा बैठकमा आफूले तथ्य जे छ, त्यही बोल्दा पनि केहीले आधारहीन टिप्पणी गरेको उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।
सोमबार नेपाल चेम्बर अफ कमर्सको ६८औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले सुँगाले पिञ्जराबाट दिएको खामभित्रको पत्र नभई सरकारले १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा पेस गरेको पनि स्पष्ट पारे ।
नेपालको सन्दर्भमा संघीयता नौलो विषय भएकाले यसको कार्यान्वयनको सुरुवाती चरणमा केही जटिलता देखिएको स्वीकार गरेका छन् । कसको अधिकार कति, कसको स्रोतको स्वामित्व कति भन्ने विषयमा केही कठिनाई देखिएका छन् । प्रधानमन्त्री ओलीले भने, संघीय संरचना कार्यान्वयनको सुरुवाती समय भएकाले यस्ता जटिलता देखिएका हुन् ।
प्रधानमन्त्री ओलीले देशको विकासका लागि आवश्यक नयाँ कानुनको निर्माण र पूराना कानुनको संशोधन तत्काल गर्ने प्रतिबद्धता गरेका थिए । देश विकासका लागि आवश्यक उद्योगी, व्यवसायीको माग तत्काल सम्बोधन गर्ने आश्वासन पनि दिए । देश र जनताको हितका लागि सरकार सबै काम गर्न प्रतिबद्ध छु, प्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको समग्र विकासका लागि आवश्यक कानुन संशोधन गर्न सरकारसँग माग गरेका थिए । लगानीमैत्री, उद्योगी व्यवसायीमैत्री कानुन नभएकोतर्फ पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।