वाइडबडी जहाज प्रकरणमा संलग्नता नभएको भन्दै गृहसचिव राईको नाम हटाइयो |
काठमाडौं । वाइडबडी जहाज अनियमिततामा यसअघि संसदीय उपसमितिले दोषी ठहर गरेका गृहसचिव प्रेमकुमार राईको संलग्नता नभएको भन्दै प्रतिवदेन सच्याइएको छ ।
नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा आर्थिक हिनामिना भएको भन्दै सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवदेनमा राईसहित ५ सचिव जोडिएका थिए ।
अनियमितता आरोपमा उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित २ पूर्व पर्यटनमन्त्री, निगम महाप्रबन्धकसहित सञ्चालक समितिका सदस्य र विभिन्न निकायका विभागीय प्रमुखसहित ३४ जनालाई दोषी करार गरेको छ । अधिकारीको नाम भने यथावत छ ।
सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो ।