नागरिक लगानी कोषले एनसीसीको साधारण शेयर पाएन | संस्थापकतर्फ पनि करिब ३५ लाख कित्ता मात्र कोषलाई
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विक्री नभएको हकप्रद शेयर खरिदका लागि आवेदन दिएको नागरिक लगानी कोषले उक्त शेयर पाउनबाट विमुख भएको छ । उक्त शेयरको बोलकबोलमा लगानी कोषको भन्दा बढी मूल्य कबोल गर्ने अन्य लगानीकर्ताले उक्त शेयर सकार्न सफल भएका छन् ।
बैंकका प्रमुख शेयरधनीहरू एनबी समूह र निर्मल प्रधान समूहले हकप्रद नभरेपछि विक्री प्रबन्धक सनराइज क्यापिटलले लिलामका लागि हिजो आइतवार लिलामीमा विक्री खुला गरेको थियो । विक्री खुला भएसँगै कोषले सबै शेयर खरिदका लागि आवेदन दिएको थियो ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रारम्भिक तथ्यांकअनुसार एनसीसी बैंकको साधारण शेयर २०२ रुपैयाँ वा सोभन्दा माथि मूल्यमा बोलपत्र पेश गरेका लगानीकर्ताले मागअनुसार नै शेयर प्राप्त गरेका छन् । प्रतिकित्ता २०१ रुपैयाँमा बोलपत्र पेश गर्ने लगानीकर्ताहरूले भने आंशिक रूपमा मात्र शेयर पाउनेछन् । संस्थापक समूहतर्फ १०१ रूपैयाँसम्म आवेदन गर्ने साविकको संस्थापकहरूले शेयर प्राप्त गरेका थिए ।
नागरिक लगानी कोषले १३ लाख ९४ हजार १९८ कित्ता साधारण शेयरका लागि प्रतिकित्ता १९१ का दरले २६ करोड ६२ लाख ९१ हजारमा उठाउन बोलपत्र पेश गरेको थियो । तर साधारण शेयरको न्यूनतम कटअफ नै २०१ कायम भएकाले कोषले साधारण शेयर प्राप्त गर्न नसकेको हो ।
संस्थापक शेयरतर्फ भने नागरिक लगानी कोषले प्रतिकित्ता १०१ रुपैयाँको दरले करिब ३५ लाख कित्ता संस्थापक शेयर प्राप्त गरेको छ ।कोषले लिलामीमा ल्याइएका सबै संस्थापक शेयरका लागि प्रतिकित्ता १०१ रुपैयाँका दरले ६५ करोड ८१ लाख ९६ हजार रुपैयाँको आवेदन गरेको थियो ।
एनसीसी बैंकले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।
हाल ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ चुक्ता पूँजी रहेको एनसीसी बैंकको लिलामीमा हकप्रद बिक्रीपछि ७ अर्ब २ करोड रुपैयाँ पुग्नेछ भने राष्ट्र बैंकले तोकेको ८ अर्ब पूँजी कायम गर्न बैंकलाई अझै चुक्ता पूँजीको ९८ करोड पूँजी वृद्धि आवश्यक देखिन्छ । यसका लागि कम्पनीले करिबक १४ प्रतिशत बोनस बाँड्नुपर्ने रहेकाले पनि बैंकको लिलामी शेयरमा आकर्षण देखिएको हो ।