नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त | १० औँ तहबाट प्रबन्ध निर्देशक
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।
अन्तिम प्रतिस्पर्धामा रहेका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र संगिता अर्याललाई पछाडि पार्दै अधिकारी टेलिकमको एमडी नियुक्त भएका हुन्।् । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले अधिकारीको नियुक्ती पुष्टी गरेका छन् ।
डिल्ली अधिकारी र संगीता अर्याल टेलिकममै दशौं तहमा कार्यरत व्यवस्थापक हुन्। अधिकारी अहिले प्रबन्ध निर्देशककै कार्यालयमा प्राविधिक सल्लाहकारको रुपमा कार्यरत छन् । अर्याल ब्याकबोन डिपार्टमेन्टमा कार्यरत छिन् । यसअघि ब्याकबोन डिपार्टमेन्टमै काम गरेका अधिकारी भने गत भदौदेखि प्रबन्ध निर्देशकको कार्यालयमा सरुवा भएका हुन् ।
टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो । छनौट समितिले ८ जनाको नाम मात्रै संक्षिप्त सूचीमा समावेश गरेर व्यवसायीक कार्ययोजना प्रस्तुती र अन्तरवार्ताका लागि बोलाएको थियो ।
गत सोमबार डा. विमल आचार्य, बुद्धिप्रसाद आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला र संगीता पहाडी अर्यालले छनौट समिति समक्ष व्यवसायीक कार्ययोजना प्रस्तुत गरेका थिए ।
त्यसैगरी, मंगलबार डिल्लीराम अधिकारी, चन्द्रमोहन झा र प्रदीपराज उपाध्यायले व्यवसायीक कार्ययोजना प्रस्तुत गरेका थिए । आवेदन गरेका मध्ये अनिलकुमार झा र रामदेव यादवलाई संक्षिप्त सूचीमा समावेश गरिएको थिएन् ।
कुल १५ अर्ब चुक्ता पुँजी भएको नेपाल टेलिकमको मोबाइल र आधारभूत टेलिफोन सेवा गरेर दुई करोड भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।