पाँचथर पावर कम्पनीले प्रभावित स्थानियलाई शेयर निष्काशन गर्दै |
काठमाडौं । पाँचथर पावर कम्पनीले प्राभावित क्षेत्रका वासिन्दाको लागि पुस ३० गतेदेखि ९ लाख ६२ हजार ५०० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगवाट क्षमताको आयोजना निर्माण गरेको छ । प्रतिमेगावट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने जम्मा लागत दुई अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यसपछि कम्पनी सर्वसाधारणलाई शेययर जारी गर्ने छ ।
केयर रेटिङ नेपालले गरेको क्रेडिट रेटिङ अनुसार कम्पनीले केयर एनपी आइपीओ ग्रेड ४ प्राप्त गरेको छ । आयोजनाको निर्माण कार्य सकिएर २०७३ माघदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । आयोजनाको निर्माण कार्य सकिएर उत्पादन थालेकोले कम्पनीको क्रेडिट रेटिङ अन्य कम्पनीको भन्दा राम्रो आएको हो ।
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीको दीर्घकालिन ऋण एक अर्ब ७१ करोड रुपैयाँ रहेको छ । त्यस्तै गत वर्ष ४ करोड ५१ लाख रुपैयाँ नोक्सानमा थियो । कम्पनीले आर्थिक वर्ष २०७७⁄७८ देखि नाफामा हुने प्रक्षेपण गरेको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिएको छ । आईपीओमा स्थानीयहरुले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि ९ हजार ६२० कित्ता अर्थात ९ लाख ६२ हजार रुपैयाँसम्म माग गर्न सक्नेछन् ।
यस आईपीओमा चार स्थाबाट आवेदन बुझ्ने व्यवस्था गरिएको छ । जसमा पाँचथर पावर कम्पनीको हेवाखोला ए जविद्युत आयोजनाको कार्यालय फिदिम नगरपालिका १० याङ्गनाम, कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक र गुडविल फाइनान्सको शाखा कार्यालय फिदिम पाँचथरबाट स्थानीयले आईपीओको दरखास्त फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।