एप्पलले गुमायो एकै दिनमा ७५ अर्ब डलर, अब चौथो स्थानमा |

काठमाडौं । सूचना प्रविधिमा विश्वमै नाम कमाएको कम्पनी एप्पलले शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी बेहोरेको छ । वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्किएसँगै कम्पनीलाई उक्त परिमाणको घाटा लागेको हो । कम्पनीले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने जानकारी दिएलगत्तै उसको शेयरमूल्य घटेको हो ।
एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको विक्रीमा आएको मन्दीलाई दोष लगाएका छन् ।
सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए जबकि यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो ।
अन्य कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिसमस जस्तो चाडबाडको मौसम फलदायी मानिन्छ । वर्षभरमध्ये सबभन्दा धेरै आम्दानी यही मौसममा हुने ठानिन्छ । तर यसपालि त्यस्तो हुन सकेन ।
एप्पलको आइफोन मोबाइलको विक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ । पहिलेपहिले आइफोनको नयाँ संस्करण बजारमा आउनेबित्तिक्कै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे । कम्पनीको शोरुम बाहिर लामो लाइन लाग्ने गथ्र्यो ।
बीबीसीका प्रविधि सम्वाददाता डेव ली भन्छन्, ‘अचेल मोबाइल फोनका राम्रा गुणस्तरका कारण हामी नयाँ मोडल किनिहाल्न उत्सुक हुँदैनौं । त्यसमाथि आइफोनका नयाँ संस्करणको मूल्यै नै १ हजार डलर पुगिसक्यो।’
एप्पल अब चौथो
चीनमा एप्पलका सामग्री विक्रीमा गिरावट आएको जानकारी लगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको हो । अमेरिकाले चिनियाँ सामानमा कर वृद्धिसहित प्रतिरोधात्मक कदम चालेपछि चीनका उपभोक्ताले अमेरिकी सामान नकारात्मक सूचीमा राखेका छन् ।
केही समयअगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदविक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो । तर, अब उसलाई अन्य तीन कम्पनीले उछिनिसके । अब एप्पलभन्दा अगाडि माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनी रहेका छन् । पछिल्लो समय एप्पललाई आफ्ना सामग्रीको विक्रीमा कमी आउने अनुमान पहिल्यै भएकाले उसले अन्य क्षेत्रमा पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ ।
अचेल एप्पलले सेवा, स्वास्थ्य तथा फिट्नेस क्षेत्रमा निकै प्रगति गरेको छ । एप्पलले सेवा क्षेत्रबाट उति नै कमाउँछ जति फेसबुकको कुल आम्दानी छ । (एजेन्सी)