सरकारले उखुको मूल्य तोक्यो | चिनी उत्पादकलाई समयमै भुक्तानी गर्न निर्देशन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि उखुको मूल्य निर्धारण गरेको छ । बेलाबेलामा उखुको मूल्यमा विवाद भईरहने भएपछि सरकारले नै आगामी आर्थिक बर्षका लागि उखुको न्युनतम खरिद मूल्य तोकेको हो । मन्त्रिपरिषदको सोमवारको बैठकले उखुको न्यूनतम खरीद मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
सरकारले आर्थिक वर्ष २०७५⁄७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको उनले जानकारी दिए ।त्यस्तै सरकारले उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी ʽउखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि, २०७५ʼ बमोजिम प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिने भएको छ ।
साथै चिनी मिलहरूले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल ४७१ रुपैयाँ २८ पैसा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने छ ।