प्रहरीद्वारा साढे ३१ हजार लिटर मदिरा नियन्त्रणमा लिई नष्ट |
काठमाडौं । प्रहरीले काठमाडौं महानगरगरपालिका– ६ गोकर्णेश्वरका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थसमेत गरी साढे ३१ हजार लिटर नियन्त्रणमा लिई नष्ट गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार घरेलु मदिरा ५ हजार लिटर, कच्चा पदार्थ २१ हजार लिटर र तोङ्बा ५ हजार ५ सय लिटर नियन्त्रणमा लिई स्थानीय वडा प्रतिनिधिहरूको रोहवरमा नष्ट गरेको हो ।
महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहका अनुसार महानगरीय प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले बिहीवार बिहान ८ बजे विभिन्न स्थानमा चेकजाँच गर्दा सो परिमाणको अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको हो ।
साथै, प्रहरीले मदिरा बनाउन प्रयोग गरेका ग्याँस चुलो १० थान, सिलिण्डर १९ थान, प्लास्टिक ड्रम १३० थान र मदिरा बनाउने भाँडाकुडाँहरू ३६ थान पनि नियन्त्रणमा लिएको छ । उक्त घटनाका सम्बन्धमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी गराएको छ ।