बैंकलाई ब्रोकर लाइसेन्स दिन सेबोनको नेप्सेलाई निर्देशन |

काठमाडौं । मुद्रा बजार र पूँजी बजारको सुधारका लागि गठन गरिएको उच्चस्तरिय समितिले दिएको सुझाव कार्यान्वनका लागि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज र सीडीएससीलाई निर्देशन दिएको छ । बोर्डले वाणिज्य बैंकहरुको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने प्रकृया अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको हो ।
त्यस्तै उपत्यका बाहिर कार्यक्षेत्र रहने गरी ब्रोकर लाइसेन्सका लागि पनि प्रकृया अगाडि बढाउन बोर्डले भनेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले केहि समय अगाडि उच्चस्तरिय समिति गठन गरेका थिए ।
नेप्से सूचकमा लाग्ने सर्किट ब्रेकरलाई समसामयिक बनाउनको लागि अन्तरराष्ट्रियरुपमा भएका अभ्यासलाई अध्ययन गर्दै प्रतिवेदन तयार गरी र त्यसलाई बोडमा पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ । बजार प्रभावित पार्ने प्रवृत्तिलाई निरुत्साहित पार्नका लागि सूचकांक घट्दा र बढ्दा हुने चलखेलको अन्त्यको लागि अध्ययन गर्न निर्देशन दिएको हो ।
धितोपत्र बजारका लगानीकर्ताको हित संरक्षण गर्नको लागि आगामी चैतसम्ममा लगानीकर्ता संरक्षण कोषको कार्यान्वयनमा ल्याउनसमेत बोर्डले निर्देशन दिएको छ । बोर्डले चैतसम्ममा ओटीसी बजारलाई स्वचालित प्रणाली अपनाउने गरि कार्य गर्न पनि भनेको छ ।
कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई बजार निर्माता तथा स्टक डिलरको काम गर्ने अनुमतिको लागि आवस्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
बोर्डले सिडिएससीलाई दोस्रो बजारमा हुने कारोबारको भुक्तानीलाई सुनिश्चितता प्रदान गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड स्थापना गर्न निर्देशन दिएको छ । नेपाल स्टक एक्सचेन्जले ल्याएको अनलाइन प्रणालीमा हाल कारोबारको राफसाफ टी प्लस थ्रीमा हुँदै आएकोमा टी प्लस वनमा ल्याउनका लागि अध्ययन गरी आवस्यक नियम परिवर्तनको लागि सिफारिस गर्न निर्देशन दिएको हो ।
भित्री कारोबार बन्देज नियमावली ९इन्साइट ट्रेडिङ०को मस्यौदा बोर्ड बैठकमा प्रस्तुत भई बोर्डबाट कानुन प्रवलीकरण समितिमा पठाई त्यसमा अध्ययन भैरहेकोमा सोलाई यथाशीघ्र स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पेश गर्न निर्देशन पनि बोर्डले दिएको छ।