घलेम्दी हाइड्रोपावरको साढे १५ करोडको आइपीओ खुल्यो |
काठमाडौं । घलेम्दी हाइड्रोपावरले प्राथमिक शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि (पुस १९ गते) एक सय रुपैयाँ अंकित दरमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर (आईपिओ) सर्वसाधारणमा विक्रीमा आएको छ ।
कम्पनीले स्थानीयले खरिद नगरेको शेयर समेत जोडेर १५ लाख ३३ हजार ७७० कित्ता शेयर सर्बसाधारणकोलागि खुला गरेको जानकारी दिएको छ ।
प्रभावित क्षेत्रका स्थानीयले चार लाख ५५ हजार ७७० कित्ता शेयर खरिद गरेका थिएनन्।् । पुस २३ गतेसम्म सर्वसाधारणले उक्त शेयरमा आवेदन दिन सक्छन् ।
उक्त अवधिमा शेयर बिक्री नभए माघ १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्छन् ।
आस्वा तथा सी˗आस्वा प्रणालीमार्फत प्राथमिक शेयरमा आवेदन दिन सकिने विक्री प्रबन्धक बिभोर क्यापिटलले जनाएको छ । कम्पनीको निष्कासित शेयरमा ईक्रा नेपालले ईक्रा एनपी आईपीओ ग्रेड पाँच दिएको छ । ५ रेटिङलाई सबैभन्दा कमजोर मानिन्छ ।
कम्पनीको विद्युत उत्पादन लागत प्रतिमेगावाट २३ करोड रुपैयाँ छ । कम्पनीको शेयरमा गरिएको लगानीको फिर्ता अवधि करिब नौ वर्ष रहेको छ ।
कम्पनीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । हाइड्रोपावरको अनुमानित लागत १ अर्ब १५ करोड रुपैयाँ छ ।