१५ करोडको शेयर विक्री गर्ने तयारीमा चन्द्रागिरि हिल्स |
काठमाडौं । चन्द्रागिरि केबलकार संचालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर (आईपीओ) विक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।
कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गरी उक्त साधारणसभामा साधारण सेयर विक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गरिने छ । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण सेयर विक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको १० प्रतिशतको दरले हुन आउने साधारण सेयर विक्रीका लागि साधारणसभाले प्रस्ताव पारित गर्नेछ । विसं २०७३ देखि सञ्चालनमा आएको उक्त केबलकारले काठमाडौँ उपत्यकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको छ ।
चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत १ अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण सेयर विक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन ।