प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मत अनुमोदन |
काठमाडौं । सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन भएका छन् । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित उनलाई अनुमोदन गरेको हो ।
राणालाई मंसिर २७ गते बसेको संवैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । त्यसअघि न्याय परिषद्ले राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।
जोशी भने यसअघि नै प्रधानन्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइ विशेष समितिबाट अस्विकृत भएका थिए । नियुक्तिदेखि नै विवादमा तानिएका राणाको नाममा ९ वटा उजुरी संसदीय समितिमा परेका थिए । आइतबारको बैठकमा उनले आफूमाथि लागेका उजुरीहरुको जवाफ दिएका थिए ।
सर्वोच्च अदालतको स्थायी न्यायाधीशको रुपमा ३ वर्ष काम गरेको व्यक्ति हुनुपर्ने र जबराबाहेक त्यस्ता व्यक्ति नभएकाले उनको नाम स्वतः स्वीकृत हुने पूर्व आकलन गरिएको थियो ।
राष्ट्रपतिबाट सपथ लिएसँगै उनी ६७ वर्षे इतिहास भएको न्यायालयको २८औं नेतृत्वकर्ता बन्नेछन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रधानन्यायाधीशले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने संवैधानिक व्यवस्था छ ।