माघबाट नारायणगढ−बुटवल सडक खण्ड विस्तारको काम शुरु हुने | पुसको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने

काठमाडौं । नारायणगढ˗बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने पक्रिया अगाडि बढेको छ । यस खण्डको निर्माण कार्य शुरु गर्नका लागि पुसको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने तयारी गरिएको छ । निर्माणको काम माघको पहिलो हप्ताबाटै शुरु हुने भएको हो ।
यही खण्डबाट पूर्व˗पश्चिम राजमार्ग चार लेनको बनाउने काम शुरु हुने भौतिक पूर्वाधार तथा यायातमन्त्री रघुवीर महासेठको भनाई छ । बुटवल˗नरायणगढ सडकखण्ड दुई वटा प्याकेजमा विस्तार गरिँदैछ । दुबै प्याकेजका लागि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले जिम्मा दिइएको छ । सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयले कम्पनीसँग गत पुस ४ गते नै आयोजनाका लागि सम्झौता गरिसकेको छ ।
यो आयोजनामा प्राविधिक रुपमा सफल भएका ७ वटा कम्पनीहरु अन्तिम प्रतिस्पर्धामा थिए । जसमा सबैभन्दा कम रकम बोलकबोल गर्ने कम्पनीले नै निर्माणको जिम्मा पाएको छ ।
चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्याकेज˗२ अन्तर्गतको ठेक्का ७ अर्ब ८६ करोड रुपैयाँमा हात पारेको छ ।
यस्तै प्याकेज˗१ मा ९ अर्ब १३ करोड रुपैयाँमा उसैले ठेक्का पाएको छ । पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्यांकनमा असफल भएका थिए ।
विभागका अनुसार यो सडक खण्डकोे विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । र, विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भईसकेको छ ।
यस्तो बन्दैछ सडक
नारायणगढ बुटवल सडकखण्डलाई ४ लेनको बनाउनका लागि विभागले एडीबीबाट ऋण सहयोग लिएको छ । अब दुई लेनको यो सडकलाई चार लेनको बनाइने छ भने दुई र दुई लेनको बीचको भाग ‘ग्रीनरी’ लागि मेडियन बनाइनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७⁄७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने छ ।
यो सडकखण्डको छेउमा रहेका वस्तीहरुका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । २८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ ।
यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ । सडकका दायाँबायाँ १.५र १.५ मिटरको सोल्जर पनि बनाइनेछ ।
१ सय १५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । नारायणगढ˗दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेज अन्तर्गत निर्माण गरिनेछ ।
यो खण्ड विस्तार गरिसक्न झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । बुटवल˗नारायणगढ खण्डको पुरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालो र ओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ ।
३ लेनमध्ये उकालोतर्फ २ लेनको प्रयोग गरिनेछ । ओरालोतर्फ जाने सवारीले एक लेनमात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाइ निकै असहज हुने भएकाले दुई लेन दिन लागिएको आयोजनाले जनाएको छ । ओरालोमा गाडीहरु सजिलै पास हुने भएकाले एउटा लेनको मात्रै प्रयोग गर्न पाउनेछन् ।