काठमाडौंमा सामाजिक सञ्जालको प्रयोगले ठग्ने गिरोह सक्रिय, होसियार ! |

काठमाडौं । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबरलगायतका सामाजिक सञ्जालमा तपाईंलाई आकर्षक उपहार परेको तथा महत्वपूर्ण पार्सल आएको सूचना आएको छ भने होसियार रहनुस् । त्यस्तो प्रलोभनमा परेर तपाईं त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क गर्नुभएको छ भने तपाईं ठगिन पनि सक्नुहुन्छ ।
हाल काठमाडौंमा उपहार परेको, महत्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभनमा पारेर ठगी गर्ने एक विदेशीसहित नेपाली नागरिकलाई पक्राउ गरेपछि ठगी गर्ने त्यस्ता व्यक्ति सक्रिय रहेको पत्ता लागेको हो ।
महानगरीय अपराध महाशाखाले फेसबुक, हवाट्ुएप, भाइबर, इमोजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने काभ्रेपलाञ्चोक भुम्लुटार घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने कुसुम कायस्थ र आइभोरीकोष्टका नागरिक ओवोतार अलकाग्नीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका श्रीमान्श्रीमती हुन् । उनीहरूले सामाजिक सञ्जालका अतिरिक्त भारतीय मोबाइल नम्बरबाट समेत फोन गरी ‘तपाईंको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने’ भन्दै विभिन्न व्यक्तिबाट १४ लाख ३४ हजार ९ सय ७२ बराबरको ठगी गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनीहरूले आफूले ठगी गरेको रकम काठमाडौंका विभिन्न रेष्टुरेण्टमा खर्च गर्ने गरेका थिए । उनीहरू श्रीमान्श्रीमतीका रूपमा काठमाडौंको पेप्सीकोलामा फ्ल्याट भाडामा लिई बस्ने गरेका थिए । महत्वपूर्ण पार्सल आएको र त्यसका लागि शुल्क तिर्नुपर्ने भन्दै उनीहरूले नेपालका विभिन्न बैंकको खाता नम्बर दिई रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले आठ जनालाई त्यस्तै प्रलोभन देखाई ठगी गरेको पाइएको छ । महानगरीय अपराध महाशाखाले उनीहरूलाई आइतबार पेप्सीकोलाबाट पक्राउ गरिएको र ठगी मुद्दामा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सामाजिक सञ्जालमा उपहार परेको, पार्सल आएको भन्दै कुनै सूचना आए प्रहरीलाई जानकारी गराउनसमेत महाशाखाले आग्रह गरेको छ ।