यातायातमा सिण्डिकेट खारेजी भए पनि त्यसको व्यवस्थापन हुन सकेन : मन्त्री महासेठ | यातायातको नियमनका लागि निजीक्षेत्रसहितको यातायात प्राधिकरण
काठमाडौं । सरकारले नेपालको सार्वजनिक यातायातमा रहेको सिण्डिकेट खारेज गरे पनि त्यसपछि गर्नुपर्ने जुन व्यवस्थापन हो, त्यो गर्न नसकेको स्वीकार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गरेका छन् । उनले यातायात व्यवसायको नियमनका लागि अब निजीक्षेसहितको यातायात प्राधिकरण स्थापना गरिने खुलासा गरेका छन् ।
मन्त्री महासेठले मन्त्रालयको चालू आर्थिक बर्षको चौमासिक प्रगति विवरण सार्वजनिक गर्दै त्यस्तो धारणा व्यक्त गरेका हुन् । सो अवसरमा मन्त्री महासेठले भने, ‘सार्वजनिक यातायातमा रहेको सिन्डिकेट खारेज त गर्यौं तर त्यसको व्यवस्थापन गर्छौं नै भन्ने सोचेका थियौं, सकेनौ ।’ सरकारले गत चैत १८ गते ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका’ ल्याएर सिण्डिकेट हटाउने निर्णय गरेको थियो ।
मन्त्री महासेठले कम्पनी दर्ता ऐनअनुसार एउटा कम्पनीमा १०१ भन्दा माथि शेयर सदस्यहरू रहन नमिल्ने कानुनी प्रक्रियालगायत विविध कारणले गर्दा सिण्डिकेट खारेजीलाई संस्थागत गर्नका लागि ढिलाइ भएको खुलासा गरेका छन् । मन्त्री महासेठका अनुसार यातायात व्यवसायीहरूले सरकारसँग शेयर सदस्य संख्या अनलिमिटेड गरिदिन माग गरेअनुसार उक्त मागलाई सम्बोधन गर्दै त्यस्तै व्यवस्था ऐन संशोधन गरेर गर्न लागिएको मन्त्री महासेठले जानकारी दिएर । ऐन संशोधनका लागि संसद्मा पेश गर्न लागिएको छ ।
ऐन संशोधन भएको तीन महिनामा सबै समितिहरू कम्पनीमा रूपान्तरण भैसक्ने उनले दाबी गरे । करिब ३ लाख सार्वजनिक यातायातका साधनहरूमध्ये बल्ल ८ हजारको हाराहारीमा मात्रै कम्पनीमा दर्ता भएका छन् । तर यातायात व्यवसायीहरूले भने हालका कर्मचारी, चलअचल सम्पत्ति कम्पनीमा लैजान पाउनुपर्ने माग राख्दै आएका छन् ।
सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्न लागेको छ । प्राधिकरणका लागि यातायात प्राधिकरणको अवधारणापत्र मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । अब प्राधिकरण सार्वजनिक यातायातको नियमन र व्यवस्थापन गर्नेछ ।
मन्त्री महासेठका अनुसार यो प्राधिकरण पूर्ण रूपमा सरकारी स्वामित्वको हुने छैन । यसमा निजीक्षेत्र समेत रहनेछन् । प्राधिकरण कस्तो बनाउने विषयमा कार्यदल बनाएर अध्ययन थालिएको छ । कार्यदलले प्रतिवेदन दिएपछि मात्रै प्राधिकरण घोषणा गरिने महासेठले बताए ।