अब यात्रुको मृत्यु भएमा १० लाख, स्पाइनल र हेड इञ्जुरीलाई १५ लाखको बीमा |

काठमाडौं । अब सवारी दुर्घटनामा परेर मृत्यु भएमा उसको आश्रित परिवारले १० लाख रुपैयाँँबराबरको बीमा रकम पाउने भएका छन् । यातायात व्यवस्था विभागले सडक दुर्घटनामा पर्ने यात्रुहरूको मृत्यु भएमा त्यस्तो व्यवस्था गरेको हो ।
हालसम्म सडक दुर्घटनामा मृत्यु हुनेका आश्रित परिवारले बीमाबापत ५ लाख रुपैयाँ मात्र पाउँदै आएका थिए । सिण्डिकेट हटिसकेको अवस्थामा अब यातायात व्यवसायी समितिको अन्त्य भएको छ । यातायात व्यवसायी समितिको अन्त्य भएसँगै सरकारले तेस्रो पक्ष बीमाको रकम वृद्धि गरेर आश्रित परिवारलाई १० लाख दिने व्यवस्था मिलाउन लागेको हो ।
‘मृत्यु हुनेहरूका आश्रित परिवारलाई १० लाख र घाइतेहरूको उपचारका लागि ६ लाख रुपैयाँ बीमाबापत उपलब्ध गराउने प्रस्ताव पास भएको छ, अब बीमा समितिमा पठाउँदै छौं’, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यप्रसाद ढकालले भने ।
स्पाइनल इञ्जुरी र हेड इञ्जुरीका गम्भीर घाइतेहरूको उपचारका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने प्रस्तावसमेत तयार पारिएको उनले बताए । हालसम्म सवारीसाधन दुर्घटनाका घाइतेहरूको उपचारका लागि ३ लाख रुपैयाँ बीमाबापत उपलब्ध हुन्छ । सिण्डिकेटको अन्त्यसँगै यातायात व्यवसायी समितिहरूले यात्रूको मृत्यु तथा घाइतेहरूको उपचारका लागि अतिरिक्त रकम उपलब्ध गराउन छाडेका छन् भने सरकारले पनि यातायात समितिका सबै बैंक खाता रोक्का गरिसकेको छ ।