अपि पावरको नाफा एक करोड ३७ लाख रुपैयाँले बढ्यो |
काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३ करोड ३ लाख रुपैयाँ कमाएको छ । गत वर्षको यहि अवधिको तुलनामा यो १ करोड ३७ लाख रुपैयाँले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
अपि पावरले विद्युत विक्रीबाट ५ करोड ९९ लाख र अन्य स्रोतबाट ६ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष विद्युत विक्रीबाट ४ करोड ८ लाख रुपैयाँ कमाएको थियो । विद्युत विक्री बापतको आम्दानी बढेपछि कम्पनीको नाफा बढेको हो ।
कम्पनीको मुनाफा अघिल्लो आ।व।को यही त्रैमासको तुलनामा ८३ प्रतिशतले बृद्धि भएको हो भने विद्युत बिक्री बाट कम्पनीको आम्दानी ४७ प्रतिशतले बढेको छ ।
अत्तरिया बलाँच १३२ केभी ट्रान्समिसन लाईन सञ्चालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ । चुक्तापूँजी १ अर्ब १३ लाख ४० हजार रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ९ करोड १६ लाख रुपैयाँ संचित छ ।
कम्पनीको नाफामा बृद्धि भएसँगै गत वर्ष ६ रुपैयाँ ३२ पैसा रहेको प्रतिशेयर आम्दानी यस अवधिमा १० रुपैयाँ ७२ पैसा पुगेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ०८ पैसा र मूल्य आम्दानी अनुपात २१.५५ गुणा बढी छ ।