डिजिटल नेपालको अवधारणा एक महिनाभित्र सार्वजनिक हुन्छ ː सञ्चारमन्त्री |
काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले डिजिटल नेपालको अभियानलाई आगामि एक महिना भित्र शुरु गर्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको क्यान फेडरेसनको २५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले ५ बर्षे कार्ययोजनाका साथ डिजिटल नेपाल अभियान संचालन गर्ने बताएका हुन ।
साथै उनले सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध सिर्जना भइरहेको बताएका छन् । सरकारले घोषणा गरेका नवीन काम अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको गुनासो गरे । विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारलाई काम गर्न अप्ठ्यारो पर्ने गरेको पनि उनले बताए ।
सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीका कारण समस्या सिर्जना भएको दाबी गरे । डिजिटल नेपालको लक्ष पूरा गर्ने सन्दर्भमा केही अप्ठ्यारा सिर्जना हुने गरेको उल्लेख गर्दे उनले विद्युतीय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बताए ।
सिलौटे युग पार गर्दे अहिले मन्त्रिपरिषद् बैठक कम्प्युटर प्रणालीबाट सञ्चालन गर्ने अवस्थामा आइसकेको भन्दै उनले सरकारले डिजिटल नेपालको संकल्प पूरा गरेरै छाड्ने दाबी गरे ।
कार्यक्रममा उद्योगवाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजना गरिदिनु पर्ने बताए । उनले लगानीको वातावरण सिर्जना गर्न सकेमात्रै नेपालको औद्योगिक विकासले फड्को मार्ने भनाई राखेका थिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले हाल कम्प्युटर मनिटर र मोबाइल फोन आयत गर्दा धेरै समस्या रहेको र त्यसमा सरकारलाई छिटो भन्दा छिटो उचित समाधान गरिदिन आग्रह गरे ।
कार्यक्रममा संचार तथा सुचना प्रबिधि मन्त्रालयका सह−सचिब वीरेन्द्र कुमार मिश्र, सुचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव को पनी उपस्थिति रहेको थियो ।
क्यान महासंघको अध्यक्ष हेमन्त कुमार चौरसियाले सरकारले सहयोग गरे ७ सय ५३ वटै स्थानीय तहलाई प्रविधि मैत्री बनाउन क्यान महासंघले प्रबिधिक सहयोग गर्ने प्रतिबदता ब्यक्त गरेका थिए ।