विकास र समृद्धिले मात्र अपराध न्यूनीकरण हुँदैन, सोचमा परिवर्तन चाहिन्छ : डीआईजी सैलेश थापा |
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सैलेश थापा क्षत्रीले विकास र समृद्धिले मात्र अपराध न्यूनीकरण नहुने बताएका छन् । उनले अपराध न्यूनीकरणका लागि सोचमा परिवर्तन चाहिने र यसका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा हिजो शुक्रवार आयोजित समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा त्यस्तो धारणा राखेका हुन् ।
सो अवसरमा डीआईजी क्षत्रीले भने, ‘जब नागरिक सुरक्षित हुन्छ, तब मात्र प्रहरी सन्तुष्ट रहन्छ । नागरिक र प्रहरीको सहकार्यले मात्र सुरक्षा सम्भव हुन्छ ।’
कार्यक्रममा डीआईजी क्षत्रीले साइबर क्राइम, सामाजिक सञ्जाल, अपरहण तथा जबर्जस्ती करणीसम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायबारे जानकारी दिए । कुनै पनि अपराधका प्रक्रियाहरू पुरा हुन नदिन प्रहरी सदैव क्रियाशील उनले बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिका–१० का वडा अध्यक्ष दलबहादुर कार्की, ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल गीता राणा, सोही स्कूलकी भाइस–प्रिन्सिपल सुरिना गुरुङलगायतले बोलेका थिए ।
सो अवसरमा भाइस–प्रिन्सिपल गुरुङलको संयोजकत्वमा विद्यालय सम्पर्क समिति समेत गठन गरिएको छ । कार्यक्रम महानगरीय प्रहरी वृत्त कमलपोखरी, ग्यालेक्सी पब्लिक स्कूल र सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
‘समुदाय–प्रहरी साझेदारी विद्यार्थीसँग १ दिन’ कार्यक्रमअन्र्तगत विद्यार्थीहरूले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा अवलोकन गरी साइबर क्राइम, सामाजिक संजाल, अपरहण तथा जबर्जस्ती करणीसम्बन्धी जनचेतनामूलक प्रशिक्षण र अपराधबाट बच्ने विभिन्न उपायबारे जानकारी लिए ।