समाजमा उत्कृष्ट काम गर्ने समाजसेवी सम्मानित |
काठमाडौं । समाजसेवामा लागेर उत्कृष्ट कार्य गर्ने काठमाडौं महानगरपालिका–१५, स्वयम्भू निवासी सुवर्णमान डंगोल ‘दोस्रो स्वयम्भू रत्न तथा सामुदायिक सेवा स्वर्ण पदक’ द्वारा सम्मानित भएका छन् । उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी वृत्त स्वयम्भू र सामुदायिक सेवा केन्द्र स्वयम्भूद्वारा हिजो शुक्रवार संयुक्त रूपमा आयोजित कार्यक्रममा उक्त पदकले सम्मान गरेका हुन् ।
कार्यक्रममा अन्य २० जना जेष्ठ नागरिकहरू पनि सम्मानित भएका छन् । जेष्ठ नागरिकहरूलाई प्रहरी नायव महानिरीक्षक क्षत्री र नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले संयुक्त रूपमा दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक क्षत्रीले सामाजिक सेवा अत्यन्त ठूलो मानवीय सेवा भएको चर्चा गर्दै आगामी पुस्तामा सामाजिक सेवाको भावना जगाउन यस्ता कार्यक्रमले प्रोत्साहित गर्ने बताए । उनले प्रहरीले सदैव चुनौतीपूर्ण घडीमा रही काम गर्नुपर्ने भएकाले प्रहरीका राम्रा कामको मूल्याङ्कन हुनुपर्नेमा जोड दिए ।
नागार्जुन नगरपालिकाका मेयर बस्नेतले समाज सेवाबाट नै सच्चा जनसेवा हुने भएकाले आज सम्मानित व्यक्तित्व डंगोलको सबैले अनुसरण गर्नुपर्ने बताए ।
सामुदायिक सेवा केन्द्र स्वयम्भूका अध्यक्ष अमिन पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधि, समाजसेवीहरू एवम् प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।