गाडीमा जीपीएस ट्रयाकिङ अनिवार्य गर्न विभागको प्रस्ताव |

काठमाडौं । यातायात व्यवस्था विभागले मोटरेबल सवारी साधनमा जीपीएस ट्रयाकिङ अनिवार्य बनाउने प्रस्ताव गरेको छ ।विभागले जीपीएस ट्रयाकिङ गरेर सवारी साधनको अनुगमन गर्ने सिस्टम तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको हो । अन्तरराष्ट्रिय अभ्यासअनुसार सवारी व्यवस्थापन गर्न आधुनिक प्रणालीमा जान खोजिएकोे विभागको भनाई छ ।
सबै सवारीमा जीपीएस सिस्टम लगाएर एउटा कन्ट्रोल रुम बनाउने र देशशरको सवारी व्यवस्थापनको अवस्था एउटै कक्षबाट निरीक्षण गरेर नियन्त्रण गर्ने योजना विभागको छ । सवारी दुर्घटना नियन्त्रणमा यो सिस्टम सबैभन्दा बढी उपयोगी हुने यातायात व्यवस्था विभागको दाबी छ ।
अहिले ८० प्रतिशत सवारी दुर्घटना उच्च गतिमा सवारी चलाएका कारण हुन्छ । कुन सवारी अस्वभाविक गतिमा दौडिरहेको छ भन्ने सिस्टमले देखाउँछ । त्यसलाई कन्ट्रोल रुमको ट्राफिकले स्थानीय क्षेत्रको प्रहरीसँग समन्वय गरेर तत्कालै नियन्त्रणमा लिन सक्छन् ।
यस्तै कुनै सवारी दुर्घटनामा परेको जानकारी लिन सजिलो हुन्छ भने राजमार्गमा विभिन्न कारण आउने अवरोध तथा जामको प्रारम्भिक सूचना पनि लिन सकिन्छ ।
यो प्रणाली तयार भएपछि विदेशबाट आयात हुने सबै सवारीमा जीपीएस सिस्टम अनिवार्य गर्न सकिने विभागको राय छ । यस्तै अहिले भएका सबै सवारीलाई सिस्टमभित्र ल्याएर देशभरको यातायात व्यवस्थापन प्रणालीलाई आधुनिक प्रविधिमा आधारित भएर व्यवस्थापन गर्न सकिने दाबी पनि विभागले गरेको छ ।