‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ लागू | स्वदेशी उद्योगले पाउने भए ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान
काठमाडौं । सरकारले निर्यातजन्य स्वदेशी उत्पादनलाई दिँदै आएको अनुदानमा वृद्धि गरेको छ । अब निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योगले ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान पाउने भएका छन् । स्वदेशी उत्पादन बढाउन र निर्यात वृद्धि गरी व्यापारघाटा कम गर्ने उद्देश्यले अनुदान बढाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।
मन्त्रालयले स्वदेशी विभिन्न वस्तुमा अनुदान सुविधा दिने गरी मन्पिरिषद्बाट पारित भएको ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ लागू गरी विगतमा दिइँदै आएको सुविधा बढाएको हो ।
सरकारले कपडासहित विभिन्न उत्पादनलाई दिँदै आएको भ्याट फिर्ताको सुविधा कटौति गरेपछि कपडा उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए । उद्योगीहरू आन्दोलनमा उत्रेपछि सरकारले अनुदान बढाएर सुविधा दिने सहमति गरेको थियो । त्यसैअनुसार विभिन्न वस्तुमा अनुदान सुविधा दिने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त कार्यविधि लागू गरेको हो ।
नेपालमा उत्पादन कम हुनाले विदेशी वस्तुको निर्भरता बढिरहेको छ भने निर्यात पनि अपेक्षाकृत रूपमा घटिरहेको अवस्था छ । जसले गर्दा व्यापारघाटा पनि बढ्दै गएको छ । व्यापारघाटाको खाडललाई कम गर्न पनि यस्तो कार्यविधि ल्याइएको हो ।
उक्त कार्यविधिअनुसार अब १५ वटा औद्योगिक उत्पादनले ५ र ११ वटाले ३ प्रतिशत नगद अनुदान प्राप्त गर्नेछन् । कार्यविधिमा कुल २६ वस्तुको सूची रहेको छ । सूचीमा परेका वस्तुहरू निर्यात गरेबापत सरकारले अनुदान रकम नै उपलब्ध गराउनेछ ।
स्वदेशमै प्राप्त हुने वा उत्पादन हुने कृषि, वन तथा खानीजन्य वस्तुको हकमा कम्तीमा एक चरणको प्रशोधन प्रक्रिया पूरा गरेका वस्तु यो सुविधा पाउन योग्य हुनेछन् ।
निर्यातकर्ताले अनुदान पाउनका लागि निर्यात गरेको वस्तुको भुक्तानी विदेशी मुद्रामा बैंकमा दाखिला भएको प्रमाण पेश गरेर सुविधा दावी गर्नुपर्नेछ । भारतमा हुने निकासीको हकमा प्रतितपत्र (एलसी) मार्फत आर्जित भारतीय मुद्रा बैंकमा दाखिला गरेको कागजात संलग्न गरे पुग्नेछ । यस्तै निर्यात अनुदान प्राप्त गर्न उद्योग विभागबाट निर्यात हुने वस्तु उत्पादनको प्रमाणीकरण गरेको हुनुपर्नेछ ।
वस्तु निर्यात गर्ने प्रयोजनका लागि कारोबार गरेको बैंकमा आफ्नो आयातनिर्यात अनुमतिपत्र (एक्जिम कोड), तथा स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताको प्रतिलिपि, निर्यात भएका वस्तुको व्यापारिक बिलबिजक र भन्सार प्रज्ञापनपत्र, निर्यात गरेबापत निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाण वा बैंक स्टेटमेन्ट र पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्छ ।
५ प्रतिशत अनुदान पाउने उत्पादनहरू
कार्यविधिअनुसार पूरै स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनले मात्र ५ प्रतिशत अनुदान पाउनेछन् । प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित जडिबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थर जडित गरगहना, अल्लोबाट उत्पादित सामान, मिनरल वाटर, बेसार, तरकारी, फूल, प्रशोधिकत मह, प्रशोधित अलौँची, प्रशोधित अदुवा उद्योगले ५ प्रतिशत अनुदान प्राप्त गर्नेछन् ।
३ प्रतिशत अनुदान पाउने उत्पादनहरू
स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्ध प्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तुहरू, पोलीस्टर यार्नरफाइबर भिस्कोर्ष यार्नरक्रेलिक यार्नरकटन यार्न र तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडाले निर्यातमा ३ प्रतिशत नगद अनुदान पाउनेछन् ।
५ प्रतिशत अनुदान प्राप्त गर्न यस्ता वस्तुमा ५० प्रतिशत मूल्य अभिवृद्धि भएको र ३ प्रतिशत अनुदान प्राप्त गर्न कम्तिमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएको हुनुपर्ने व्यवस्था छ ।
नेपाल सरकारले राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्क दर्ता गरेको र मूल्य अभिवृद्धि कम्तीमा ४० प्रतिशत भएका ३ प्रतिशत अनुदान पाउने वस्तुको हकमा ती वस्तु निर्यात गर्दा थप एक प्रतिशत अनुदान पाउने व्यवस्था पनि गरिएको छ ।
यसअघि निर्यातमा नगद प्रोत्साहनसम्बन्धी कार्यविधिमा १० वटा वस्तुमा २ र १५ वटामा १ प्रतिशत गरी २५ वस्तुमा निर्यात अनुदान दिने व्यवस्था थियो । अब सो कार्यविधिलाई हालै पारित भएको कार्यविधिले विस्थापित गरेको छ । अनुदानको मूल्यांकन अनुगमनका लागि वाणिज्य तथा आपूर्ति सचिवको अध्यक्षतामा छुट्टै समिति पनि बनाइएको छ ।