बीमा कम्पनीका अभिकर्ताको विदेश भ्रमणमा रोक |

काठमाडौं । बीमा कम्पनीका अभिकर्ताहरूले अब तालिमका नाममा विदेश भ्रमणको अवसर नपाउने भएका छन् । बीमा समितिले अभिकर्ताहरूमाथि विदेश भ्रमणमा रोक लगाएसँगै अबदेखि विदेश भ्रमणमा जान नपाउने भएका छन् । अर्काे व्यवस्था नभएसम्मका लागि समितिले पुस १० गते जीवन बीमा कम्पनीहरू र ११ गते निर्जीवन बीमा कम्पनीहरूलाई त्यस्तो परिपत्र जारी गर्दै अभिकर्ताहरूको विदेश भ्रमण रोक्न निर्देशन दिएको हो ।
समितिले अभिकर्ताहरूको तालिम तथा वैदेशिक भ्रमणका के–कस्ता कार्यक्रम सञ्चालन गरिएका छन्, त्यसको विवरण उपलब्ध गराउन समेत कम्पनीहरूलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरूलाई पठाइएको पत्रमा भनिएको छ, ‘कम्पनीका अभिकर्ताहरूको तालीम तथा वैदेशिक भ्रमणका सम्बन्धमा तहाँबाट के कस्ता कार्यक्रमहरू आयोजना गरिएको छ, सोको विस्तृत विवरण उपलब्ध गराइदिनु हुन तथा अर्काे व्यवस्था नभएसम्म अभिकर्ताहरूको वैदेशिक भ्रमण तथा तालीम कार्यक्रम समितिको स्वीकृति लिएर मात्र सञ्चालन गर्नुहुन निर्दशानुसार अनुरोध छ ।’
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले अभिकर्ताहरूको तालीमका नाममा मोटो रकम विदेशिएको र कम्पनीको संस्थागत सुशासनमै समेत प्रश्न उठेपछि नयाँ व्यवस्था गरिएको जानकारी दिए । उनले भने, ‘संस्थागत सुशासन निदेर्शिकाबाट कम्पनीका सीईओ र सञ्चालकलाई विदेश भ्रमणअघि समितिको स्वीकृति अनिवार्य गरेका थियौं, अभिकर्तालाई तालीम र भ्रमणका नाममा विदेश लैजाने कुरामा पनि समस्या देखेपछि कडाइ गरेका हौं ।’
उनले नेपालका जुनसुकै ठाउँमा लगेर पनि अभिकर्ताहरूलाई तालीम दिन भने सकिने स्पष्ट पारे । उनले भने, ‘देशभित्र जहाँ लगे पनि हुन्छ तर विदेश लैजान दिन्नौं भनेका हौं, तालिम रोकेका छैनौं ।’
नयाँ व्यवस्थाले अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा बीमा कम्पनीहरूको व्यवसाय बढाउन कुनै असर नगर्नेसमेत उनको भनाइ छ ।