टुँडीखेल वरिपरि कुन बस कहाँ रोक्ने ? बस स्टप भयो परिवर्तन |

काठमाडौं । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस स्टप परिवर्तन गरेको हो । मंगलबार र बुधबार राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधन रोक्न नदिएको विरोधमा यात्रुहरु उत्रिएपछि महाशाखाले एउटा सवारी साधनले टुँडिखेल वरिपरि एक स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने स्थानको नयाँ व्यवस्था गरेको छ ।
महाशाखाले सामाखुसी यातायात व्यवसायी संघ, नेपाल सार्वजनिक माइक्रो व्यवसायी संघ, बालाजु मिनिवस समिति र तारकेश्वर यातायातका सवारी साधनको लागि बस स्टप १ (काठमाडौं मलरएनएसी अगाडि) तोकेको छ ।
यस्तै दिगो सार्वजनिक यातायात, संयुक्त यातायात, कपन वंगलामुखी यातायत, सिटी यातायात र अन्नपूर्ण सेवाका सवारी साधनको लागि बस स्टप २ (काठमाडौं मलरएनएसी अगाडि) रहेको छ ।
बस स्टप १ रत्नपार्क शंकरधरपार्क तर्फ लगनखेल माइक्रो सेवा (सानो) लगनखेल माइक्रो सेवा (ठूलो) भैसेपाटी तथा ललितपुर मिनिबस, लालुपाते यातायात, गोठ्ठाटार यातायात बस तथा माइक्रो, अन्नपूर्ण यातायात, कलंकी निलो माइक्रो र दक्षिणकाली माइक्रो बस समितिका सवारी साधनलाई यात्रु ओराल्ने र चढाउन तोकेको छ ।
महाशाखाले सरोकारवाला पक्षहरुको रचनात्मक सुझावको अपेक्षासहित सवारी आवागमन थप व्यवस्थित हुने आशा गरेको बताएको छ ।
काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधनमा ‘पिक एण्ड ड्रप’ को नीति अख्तियार गरेपछि यात्रुहरु आक्रोशित बनेका छन् ।