ट्रान्सफर्मर परिवर्तन गर्ने कार्यले शहरी क्षेत्रमा विद्युत् काटिने |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंलगायत शहरी क्षेत्रमा विद्युत्को लोड व्यवस्थापनका लागि ट्रान्सफर्मरको क्षमता बढाउन थालेको छ । ट्रान्सफर्मर परिवर्तन गर्ने काम शुरू भएकाले परिवर्तन गर्ने कार्य भएको क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ ।
कम क्षमताको ट्रान्सफर्मरका कारण विद्युत् आउने र जाने भएपछि क्षमता बढाउन लागिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार लोड वृद्धिलाई दृष्टिगत गरी ट्रान्सफर्मर अपग्रेडिङ गर्ने र वितरण लाइन सुधार गर्ने काम भइरहेको छ । विद्युत् आपूर्तिमा आउने अवरोधलाई कम गर्ने प्राधिकरणले सबै प्रयास गरिरहेको बताएको छ । कारणवश लामो समयसम्म विद्युत् अवरोध भएमा सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।