काठमाडौं महानगरपालिकाद्वारा भवनको नक्सा पास र प्रमाणपत्र लिने समय थप |

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवनका नक्सा पास र निर्माण सम्पन्नताको प्रमाणपत्र लिने समयावधि थप गरेको छ ।सेवाग्राहीको चाप बढेकाले आउँदो असार मसान्तसम्मका लागि समयावधि थप गरिएको हो । बनिसकेका भवनको नक्सा नियमित गर्नका लागि सेवाग्राहीको चाप बढेको महानगरपालिकाको नक्सा विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए ।
यसअघि महानगरको भवन निर्माण इजाजत विभागले गत असोज १२ गतेदेखि नक्सा पास र निर्माण सम्पन्न भएको प्रमाणपत्र लिन आहृवान गरेको थियो ।
विभागले निर्माण भइसकेका भवन, भवनको नक्सा नियमित गर्न र भवन निर्माण सम्पन्नताको प्रमाणपत्र लिन पुस मसान्त सम्मका लागि समय दिएको थियो ।
महानगरको नगरसभाबाटौ स्वीकृत भवन निर्माण मापदण्ड, २०७५ र कार्यबिधि अनुसार पुस मसान्तसम्म समय दिइएक थियो तर, सेवाग्राहीको चाप बढेपछि समय थपेको शाक्यले बताए ।
अनलाइनबाट अहिले नै ४ हजार भन्दा बढी आवेदन परेकाले समय थप गर्नु परेको उनको भनाइ छ ।