भारतमा विद्युतीय माध्यमबाट महिनामा १ लाख मात्र झिक्न पाइने | होटल, अस्पताल र औषधि पसलमा गरिने भुक्तानीमा उक्त सिमा लागु नहुने
काठमाडौं । भारतमा विद्युतीय माध्यम (डेबिट, क्रेडिट र प्रिपेड कार्ड) मार्फत भुक्तानी गर्दा मासिक १ लाख रुपैयाँ मात्रै झिक्न पाइने भएको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै उक्त निर्देशन दिएको हो । यसअघि बिद्युतीय माध्यमबाट भुक्तानीमा कुनै सीमा राखेको थिएन । पछिल्लो समयमा भारतमा विद्युतीय माध्यममार्फत ठूलो रकम भुक्तानी भएको देखिएकाले नियन्त्रणका लागि सीमा तोकिएको राष्ट्र बैंकको भनाई छ ।
‘भारतमा डेबिट, क्रेडिटरप्रिपेड कार्डलगायत विद्युतीय कार्डको माध्यमबाट एकै पटक वा पटकपटक गरी मासिक भारु १ लाखसम्म मात्र भुक्तानी गर्न सकिनेछ,’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ, ‘होटल, अस्पताल र औषधि पसलमा गरिने भुक्तानीको हकमा उक्त सीमा लागू हुने छैन ।’
राष्ट्र बैंकका अनुसार गत वर्ष विभिन्न किसिमका विद्युतीय कार्ड, ड्राफ्ट र खातामा स्थानान्तर गरी नेपालबाट करिब १ खर्ब रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ । यही तथ्यांकका आधारमा भारतमा धेरै पैसा खर्च भएको निष्कर्ष राष्ट्र बैंकले निकालेको हो । सोही निष्कर्षका आधारमा भारतमा विद्युतीय माध्यममार्फत वस्तु तथा सेवा खरिद गर्दा गरिने भुक्तानीमा सीमा तोकिदिएको हो ।