प्राधिकरणद्वारा तीन वर्षमा ७७ प्रतिशत प्रगति हासिल भएको खुलासा | ४५ प्रतिशत घर पुनर्निर्माण सम्पन्न, ३२ प्रतिशत पुनर्निर्माणको क्रममा
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षमा भएका उपलब्धि र आगामी दुईवर्षे योजना सार्वजनिक गर्दै पुनर्निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत प्रगति हासिल भएको जानकारी दिएको छ । जसमा ४५ प्रतिशत घर पुनर्निर्माण सम्पन्न भएका छन् भने ३२ प्रतिशत पुनर्निर्माणको क्रममा रहेका छन् । प्राधिकरण स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा हिजो मंगलवार पत्रकार सम्मेलन गरी प्राधिकरणले उक्त जानकारी दिएको हो ।
प्राधिकरणले ७ लाख ४२ हजार १ सय ३५ भूकम्प पीडित लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा त्यस मध्ये ३ लाख ३७ हजार ३ सय १९ घर पुनर्निर्माण सम्पन्न भएको र २ लाख ३३ हजार ३ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको बताएको छ ।
त्यस्तै, विद्यालय भवनमा पुनर्निर्माण सम्पन्न र निर्माणाधीन गरी ८० प्रतिशत प्रगति हासिल भएको छ । जसमा ५५ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने २५ प्रतिशत निर्माणाधीन अवस्थामा छन् । भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालय मध्ये ४ हजार १ सय ७२ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ९ सय २१ वटा विद्यालय पुनर्निर्माणका क्रममा छन् ।
त्यसैगरी, स्वास्थ्य संस्थाहरूमा ६६ प्रतिशत, सरकारी भवनमा ९५ प्रतिशत, सुरक्षा निकायका भवनहरूमा ५४ प्रतिशत, पुरातात्विक सम्पदामा ६८ प्रतिशत प्रगति हासिल भएको प्राधिकरणले बताएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘निजी आवास पुनर्निर्माण कार्य मूलभूत रूपमा यसै आर्थिक वर्षभित्रमा सम्पन्न गर्छौं, योजनामुताबिक दुई वर्षमा पुनर्निर्माणका सबै काम सक्ने लक्ष्य लिएर काम काम गरिरहेका छौं ।’
प्राधिकरणले शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी एवम् सुरक्षा निकायका भवन, पुरातात्विक महत्वका सम्पदाहरू, गुम्बा पुनर्निर्माणलगायतका क्षेत्रमा आगामी २ वर्षको लक्ष्य सार्वजनिक गरेको छ ।
ज्ञवालीले पुनर्निर्माण सम्पन्न भएका र पुनर्निर्माण भइरहेका स्थानहरूमा आर्थिक सामाजिक पुनर्स्थापनाका लागि जीवीकोपार्जनलगायतका कार्यक्रमलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताए ।