आशुतोष सेक्युरिटिजको कारोबार रोक्का |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शेयरकारोबार गर्ने एक सेक्युरिटिज कम्पनीलाई कालो सूचीमा राखेको छ । स्टक एक्सचेञ्जले आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजलाई धितोपत्रको कारोबारमा रोक लगाएको हो ।
उक्त कम्पनीका सञ्चालक कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश भएको पाइएकाले कालो सूचीमा राख्ने निर्णय गरिएको स्टक एक्सचेञ्जले जानकारी दिएको हो । साथै, स्टक एक्सचेञ्जले उक्त कम्पनीका सञ्चालक कर्जा सूचना केन्द्रको कालो सूचीमा पर्नुको कारण तथा तथ्य खुलाई सात दिनभित्र पेश गर्नसमेत निर्देशन दिएको छ ।
धितोपत्र व्यवसाय नियमावली, २०६४ को नियम १८ मा सञ्चालक वा कार्यकारी प्रमुखको अयोग्यता आफू अथवा आफू सञ्चालक तथा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको अवधिभर कारोबार गर्न नपाउने व्यवस्था छ ।
सो कम्पनीबाट कारोबार राफसाफ तथा फछ्र्योटलगायत अन्य कारोबार हालका लागि नेप्सेसँग समन्वय गरेर मात्र गर्न भनिएको स्टकका कायम मुकायम सहायक प्रबन्धक सुरेश जोशीले जानकारी दिए ।