प्रहरीद्वारा २१ हजार लिटर अवैध घरेलु मदिरा नष्ट, नौवटा टहरा बनाई उत्पादन |
काठमाडौं । प्रहरीले काठमाडौंका दुई स्थानबाट नियन्त्रणमा लिइएको अवैध घरेलु मदिरा र कच्चा पदार्थसमेत गरी २१ हजार २ सय ७५ लिटर हिजो सोमवार दिउँसो साढे २ बजे नष्ट गरेको छ । काठमाडौंको मनमैंजु र टंकेश्वर एरियाबाट नियन्त्रणमा लिइएको सो परिमाणको अवैध घरेलु मदिरा र कच्चा पदार्थ वडाध्यक्ष तथा स्थानीय व्यक्तिको रोहवरमा नष्ट गरिएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीकी प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जानकारी दिएकी हुन् ।
प्रवक्ता सिंहका अनुसार महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले संखुवासभा घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका– ९, मनमैंजु बस्ने ४० वर्षीय फुर्पू शेर्पा र ३५ वर्षीय दावा शेर्पासमेतले विक्रीवितरण गर्ने उद्देश्यले उत्पादन गरेको १९ हजार ३ सय १० लिटर मदिरा र १ हजार ५ सय ६५ लिटर कच्चा पदार्थ नियन्त्रणमा लिएको हो । उनीहरूले ९ वटा टहरा बनाई अवैध घरेलु मदिरा उत्पादन तथा विक्रीवितरण गर्दै आएका थिए । यससम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।
त्यसैगरी, प्रहरीले काठमाडौं महानगरपालिका– १३, टंकेश्वर एरियाका होटलहरू चेकजाँच गर्ने क्रममा अवैध मदिरा र कच्चा पदार्थ गरी ४ सय लिटर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सबै मदिरा तथा कच्चा पदार्थ सम्बन्धित वडाध्यक्ष तथा स्थानीयको रोहवरमा नष्ट गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।