प्राइम कलेजमा अन्तरराष्ट्रियस्तरको प्रथम नेपाल एआई पाठशाला शुरू | पाठशाला ११ दिनसम्म चल्ने, विभिन्न देशका गरी १ सय २० जनाको सहभागिता

काठमाडौं । नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इन्फरमेटिक्स इन्स्टिच्यूट अफ रिसर्च (नामी) को आयोजना तथा एनसेलको प्रायोजनमा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला शुरू भएको छ । काठमाडौंको नयाँ बजार, खुसिँबुस्थित प्राइम कलेजमा यही डिसेम्बर २० तारिखदेखि सञ्चालन भएको उक्त पाठशालामा नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्बेलगायत देशका गरी १ सय २० जना प्रशिक्षार्थीले भाग लिएका छन् ।
पाठशालामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, उपादेयता र आवश्यकताका सन्दर्भमा आवश्यक तालीम, परामर्श र अनुसन्धान गरिने बताइएको छ । पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना काठमाडौं उपत्यकाबाहिरका र २० जना व्यावसायिक क्षेत्रका व्यक्तित्वहरू सहभागी रहेको आयोजकले बताएका छन् ।
पाठशालामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, व्यवस्थापकीय, स्वास्थ्यलगायतका समस्याहरूको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने बताइएको छ ।
कार्यक्रममा सहभागीहरूलाई तालीम र परामर्र्श दिन आएका नामीका सदस्य तथा बेलायतस्थित योर्क विश्वविद्यालयअन्तर्गत कम्यूटर विज्ञान विभागका प्राध्यापक सुरेश मानन्धर नेपालमा एआईसम्बन्धी प्रभाकारी शिक्षणको शुरुवात नै हुन नसकेको बताउँछन् । उनका अनुसार यो पाठशालाले एआईका सम्बन्धमा विद्यमान भ्रम निवारण गर्नुका साथै यसको उपादेयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरूको स्तरोन्नतिमा समेत सहयोग पुर्याउनेछ ।
नामीका अर्का सदस्य तथा इम्पेरियल कलेज लण्डनमा पोष्ट डक्टरल अनुसन्धानकर्ताको रूपमा कार्यरत डा. विनोद भट्टराई पाठशालाको आयोजना गर्नुको पछाडि नेपालमा ‘अनुसन्धान संस्कारलाई सहयोग पुर्याउनु रहेको बताए । उनी भन्छन्, ‘नेपालका लागि कस्तो प्रविधि आवश्यकता हुन्छ भन्ने कुरा नेपालले नै तय गर्न सक्नुपर्छ ।’ नेपालको कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा आवश्यक प्रविधिका लागि आज पनि बाहिरी देशसँग निर्भर हुनुपरिरहेको बताउँदै उनले भने, ‘जबसम्म अनुसन्धान गर्ने संस्कार र वातावरण निर्माण गरिँदैन, तबसम्म प्रविधिको क्षेत्रमा प्रगति हुँदैन ।’
विज्ञान प्रविधिको क्षेत्रमा अत्यन्तै पछ्यौटेपन बेहोरिरहेको नेपालमा आर्टिफिसियल इन्टेलिजेन्सजस्तो अत्याधुनिक विज्ञान र प्रविधिसँग सम्बन्धित विषयमा सोध, तालीम र बहस हुनु आफैंमा सुखद विषय हो । प्राइम कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर कृष्णकुमार श्रेष्ठ नामीले सञ्चालन गरेको पाठशालाले एआईसँगसँगै समग्र सूचना प्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने बताए ।
नेपालबाट विश्वका विभिन्न विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा पुगेर उक्त विश्वविद्यालयहरुमा कम्युटर विज्ञान र एआईको क्षेत्रमा कार्य गरेका तथा नेपालमा पनि सूचना प्रविधि क्षेत्रमै कार्य गरेका प्राध्यापक, अनुसन्धानकर्ता र वैज्ञानिकहरू मिलेर स्थापना गरिएको नामीको अवधारणा सन् २०१५ बाटै अगाडि बढेको हो ।
नेपालमा सन् २०१८ मा कानूनी प्रक्रिया पूरा गरी गैरनाफामूलक संस्थाको रूपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, व्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्त विषयगत क्षेत्रहरूको विकासका लागि एआईसम्बद्ध अध्ययन अनुसन्धान गर्ने तय गरेको छ ।
नेपाली विद्यार्थीहरूको विद्यावारिधिलगायत सोध र अनुसन्धानको कार्यलाई सहयोग गर्ने र नेपालको आवश्यकतामा आधारित वृहत्तर अनुसन्धानलाई कार्यान्वयनमा लैजाने उद्देश्यसहित स्थापित नामीले विज्ञान प्रविधिको विकासका लागि आवश्यक नीति निर्माणमा समेत सहयोग गर्ने बताइएको छ ।
प्रथम नेपाल एआई पाठशालाका लागि सहभागीहरू छनोट गर्न अनलाइनमार्फत विश्वव्यापी रूपमा आवेदन माग गरिएको थियो भने नेपालका कलेजहरूमा विभिन्न माध्यममार्फत सूचना सम्प्रेषण गरिएको थियो । विभिन्न मापन विधिमार्फत १ सय २० जना सहभागीको छनोट गरिएको पाठशालामा काठमाडौं उपत्यकाभन्दा बाहिरका सहभागीहरूका लागि आवासीय व्यवस्थासमेत गरिएको छ ।