२५ वटा संस्था लघुवित्तमा स्तरोन्नति हुँदै | लघुवित्तको लाइसेन्स दिने म्याद तीन महिना थपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता गरेर विपन्न वर्गमा लगानी गर्दै आएका गैरसरकारी संस्थालाई लघुवित्त संस्थामा स्तरोन्नतिका लागि थप तीन महिनाको समय दिने भएको छ । यसअघि मंसिर ६ गतेसम्मको समय दिएकोमा विभिन्न प्राविधिक कारणले कम्पनीमा दर्ता हुन नसकेका कारण स्तरोन्नतिका लागि समय थप गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको हो ।
लघुवित्त संस्थाहरूले विपन्न परिवारको जीवनस्तर उकास्नका लागि लघुकर्जा प्रवाह गर्छन् । यस्ता संस्थाले सदस्यसँग निक्षेप परिचालन गर्छन् भने बैंक तथा वित्तीय संस्थासँग विपन्न क्षेत्रमा जाने पैसा लिएर वित्तीय मध्यस्थताको काम गर्छन् ।
राष्ट्र बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयसँग स्वीकृति लिएर समय बढाउने प्रस्ताव सञ्चालक समितिको बैठकमा पेश गर्दै छ । सञ्चालक समितिले उक्त प्रस्ताव पारित गरेपछि गैरसरकारी संस्थाले थप तीन महिनाको समय पाउनेछन् ।
‘प्राविधिक कारणले कम्पनीमा दर्ता हुन नसकेका गैरसरकारी संस्थाहरूको कम्पनीमा दर्ता हुने समय सकिएको थियो,’ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आर्थिक पाटीसँग भने, ‘हामीले ६ महिना समय बढाउन कम्पनी रजिष्ट्रारको कार्यालयलाई आग्रह गरेका थियौं । त्यहाँबाट ३ महिना मात्र समय थप भयो । अब हामी तीन महिना समय बढाइ दिन्छौं ।’
राष्ट्र बैंकका अनुसार अब तोकिएको समयभित्र कम्पनीमा दर्ता भएर आएका गैरसरकारी संस्थालाई लघुवित्त संस्थाको लाइसेन्स दिने प्रक्रिया शुरू हुन्छ । २५ वटा गैरसरकारी संस्थाहरू लघुवित्तमा स्तरोन्नति हुन खोजिरहेका छन् । तिनलाई आफ्नो नियमन क्षेत्राधिकारबाट राष्ट्र बैंकले हटाइसकेको छ ।