क्रिसमसमा हातले बनाउन सकिने सजावटका सामाग्री |

हामीमध्ये धेरैले अङ्ग्रेजी वर्षको अन्त्य पर्खेका हुन्छौं । किनकि, यो समयमा क्रिसमस पर्व मनाइन्छ । अधिकांश मानिस यो समयमा आफ्नै हातले क्रिसमसको सजावट गर्न तथा मिठाई बनाउन व्यस्त हुन्छन् । हातबाट क्रिसमसका सजावटी सामान बनाउन केही समय लाग्छ । तर, यसले क्रिसमसको विशेष शोभा बढाउँछ ।
हातबाट क्रिसमसका सामान बनाउँदा खर्चसमेत धेरै जोगिन्छ । यो क्रिसमसमा तपाईं पनि आफ्नै हातले सजावटका सामान बनाउन चाहनुहुन्छ भने त्यसका लागि यहाँ केही तरीका दिइएको छ । क्रिसमसका बेला हातले नै बनाउन सकिने केही सामग्री यस्ता छन् ː
क्रिसमस ट्री

क्रिसमस ट्री बनाउन तपाईं ‘अग्र्यानिक क्ले’को प्रयोग गर्न सक्नुहुन्छ । यसका तीनओटा तह बनाई सजाउन अलग–अलग रङको प्रयोग गर्नुपर्छ । यो एकदमै सरल तरीका हो ।
साण्टाक्लज

ऊन वा जूटबाट साण्टाक्लज बनाउन सकिन्छ । विभिन्न रङको प्रयोग गरेर साण्टा क्लज बनाउनुहोस् । सेतो मोजा तथा धागोको प्रयोगले बनाइएको साण्टा क्लज आकर्षक हुन्छ ।
कोक्रो

घरमा सानो कोक्रो बनाउन प्लाष्टर अफ पेरिसबाट पवित्र परिवारको स–सानो मूर्ति बनाउनुहोस् । यस्तो मूर्ति बनाउन माटोको प्रयोग गर्न सकिन्छ ।
साण्टाको स्टाकिङ

साण्टाको स्टाकिङ पुरानो वा नयाँ मोजाबाट बनाउन सकिन्छ । पुरानो मोजा भए पनि त्यसको अवस्था राम्रो हुनुपर्छ । मोजा रातो रङको मात्र छान्नुपर्छ । किनकि, रातो रङ क्रिसमसको प्रतीक मानिन्छ । मोजाको किनारमा सेतो रङको बो बनाएर बाँध्नुपर्छ ।
स्टार अफ बेथलेहम

स्टार अफ बेथलेहम धानको बाला, घाँस वा सेतो उनी धागोबाट बनाउन सकिन्छ । साथै, लचकदार तारबाट पनि यो बन्छ । यी सबैमध्ये एउटाको छनोट गरेर स्टार अफ बेथलेहम बनाउन सकिन्छ ।
स्नो म्यान

दुईओटा सेता मोजालाई सिलाउनुहोस् वा आपसमा जोड्नुहोस् । आँखा तथा स्नो म्यानको बटनका लागि चम्किला बटनको प्रयोग गर्नुहोस् । त्यसको मुखमा मुस्कान बनाउन नभुल्नुहोस् । तपाईं आफ्ना बच्चाहरूसँग मिलेर पनि यो सामान बनाउन सक्नुहुन्छ ।
क्रिसमस ट्रीको सजावट

क्रिसमस ट्री सजाउन ऊन या धागो र विभिन्न रङ चाहिन्छ । आधारभूत ढाँचा बनाउन कार्डबोर्ड वा थर्माकोलको प्रयोग गर्न सकिन्छ । साथै, यसका लागि रेनडियर, क्रिसमसको पवित्र मूर्ति तथा क्याण्डीको प्रयोग गर्नु पनि राम्रो हुन्छ ।